Logo
१५ चैत्र २०८०, बिहीबार
(May 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रमा ‘यौन दुराचारी’देखि ‘अपहरणकारी’सम्म केन्द्रीय सदस्य !

Maoist Centerकाठमाडौं । विगतमा सँगै जनयुद्ध लडेर विभिन्न समूहमा विभाजित माओवादीहरु एक भए पनि सबैको आशाको केन्द्र भने बन्न सकेन । किनकि अहिले केन्द्रीय सदस्य बनाइएकाहरु यौन कारवाहीमा परेका, अपहरण मुद्दामा थुनामा परेकादेखि लिएर पार्टी सदस्यको हैसियतसम्म नभएका व्यक्तिहरु पनि परेका छन् ।
पार्टी एकता गर्दा शीर्ष नेताहरुबीच माओवादी विभाजन नहुँदा जुन व्यक्ति जुन पदीय हैसियतमा थियो एकता भएपछि त्यहि हैसियतमा रहने समझदारी भएको थियो । सोही समझदारी अनुसार एमाओवादीले केन्द्रीय सदस्य थपेन । तर, अन्य समूहबाट आएका केही व्यक्तिहरु जुनियर मात्रै छैनन्, निकै विवादित छविका समेत छन् ।
जो मनलाग्यो त्यही व्यक्तिलाई केन्द्रीय सदस्य बनाइएको भन्दै असन्तुष्ट नेताहरुले आज बस्ने महाधिवेशन आयोजक समितिको पहिलो बैठकमा कुरा उठाउने तयारी गरेका छन् ।
समितिको बैठक आज बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्दैछ ।
यी हुन् विवादित व्यक्ति
रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १ सय २६ जना नेताहरु एमाओवादीमा आएका छन् । यसैगरी विप्लव माओवादीबाट तिलक परियार नेतृत्वको १७ जनाको समूह एमाओवादीमा आएको छ । त्यसमध्येका नेता भनेका परियार मात्रै हुन् । अरु सबै कारवाहीमा परेर निष्कृय भएका, जिल्ला समिति सदस्यको हैसियतमा रहेका र यौन दुराचारी तथा अपहरणकारीको मुद्दामा कारवाहीमा परेकाहरु छन् ।
तिनैहरुमध्येका एक हुन् झंक पराजुली । बारामा रहँदा एक बालिकालाई यौन दुर्व्यवहार गरेपछि उनी पार्टीको कारबाहीमा परेका थिए । पार्टी बिभाजनपछि विप्लव माओवादीमा लागे पनि उनी जिम्मेवारीबिहीन थिए ।
धर्म परियार पनि माओवादीको भाषामा सांस्कृतिक बिचलन (यौनकाण्ड)मा परेका व्यक्ति हुन् । मोहन वैद्य र नेत्रविक्रम चन्द नफुट्दैको कुरा हो, पार्टीको जिल्ला समिति सदस्यको हैसियतमा रहेका उनी चाबहिलस्थित एक घरमा डेरा लिएर बस्दथे । सोही घरमा बस्ने एक महिला प्रहरीलाई यौन दुराचार गरेको आरोप धर्मलाई लाग्यो । महिला प्रहरीले प्रहरीमै उजुरी हालेपछि घटना सार्बजनिक भयो र आरोप पुष्टि भएको भन्दै माओवादीले कारबाहीस्वरुप पार्टीबाट बर्खास्त गर्‍यो ।
वैद्य नेतृत्वको माओवादीबाट विप्लव फुटेपछि उनी विप्लवतिर लागे तर, यौनकाण्डमा परेको भन्दै विप्लव नेतृत्वको पार्टीले उनलाई कुनै जिम्मेवारी दिएन । त्यसपछि निष्कृय बसेका उनी एकाएक तिलक परियारको नेतृत्वमा एमाओवादीमा समाहित भए र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य पद पड्काए ।
अर्का विवादित व्यक्ति हुन् सिन्धुपाल्चोक घर भएका उमेश घोरासइनी । जिल्ला समिति सदस्यको हैसियतका उनी व्यक्ति अपहरणको मुद्दामा प्रहरीको थुनामा परेका व्यक्ति हुन् ।
सिन्धुपाल्चोककै दावा तामाङ नामका एक व्यापारीलाई अपहरण गरेर चन्दा असुलेको उजुरीका आधारमा तिनकुने प्रहरीले पक्राउ गरी १९-२० दिन हिरासतमा राखेको थियो । तर, पछि राजनीतिक दबावमा उनलाई हिरासत मुक्त बनाइयो । त्यसपछि पार्टीको कारबाहीमा परेर निष्कृय भएका उनी विप्लव माओवादीमा लागेका थिए । अहिले पार्टी एकतासँगै घोरासइनी पनि माओवादी केन्द्रका केन्द्रीय सदस्य बनेका छन् ।
आशिष विक पनि परियारको नेतृत्वमा एमाओवादीमा प्रवेश गरे । जिल्ला समिति सदस्यको हैसियतमा रहेकाबेला पाल्पा जिल्ला पार्टीको कारबाहीमा परेपछि उनी निष्कृय थिए । हाल बुटवलमा म्यानपावर व्यवसाय गरेर बसेका उनी पनि माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका छन् ।
‘जिल्ला समिति सदस्यको हैसियतमा रहेको विवादित व्यक्ति एकाएक केन्द्रीय समिति सदस्य बनेपछि मलाई त असैह्य भयो,’ माओवादीका एक नेताले भने, ‘यौन दुराचारी र अपहरणकारीलाई राखेर माओवादी कसरी पहिलो पार्टी बन्ला ?’
बैठकमा कुरा उठाउने तयारी
एक समय यस्तो थियो, पार्टी सदस्यता पाउन पनि निक्कै हम्मे-हम्मे हुन्थ्यो । तर अहिले पार्टी सदस्यको हैसियतको व्यक्ति पनि केन्द्रीय सदस्य बनेर आउँदा इमान्दार र पुराना नेता-कार्यकर्ताहरुलाई निराश बनाएको छ ।
पार्टी एकता गर्दा शीर्ष नेताहरुबीच माओवादी बिभाजन नहुँदा बखत जुन व्यक्ति जुन पार्टी हैसियतमा थियो एकता पछि पनि त्यही हैसियतमै रहने समझदारी भएको थियो । तर, आफ्नो समूह ठूलो देखाउन एकता प्रक्रियामा आएकाहरुले निकै ‘जुनियर’ त्यो पनि विवादित व्यक्तिहरुलाई केन्द्रीय सदस्य बनाइदिन सफल भएका छन् ।
त्यसैले आज बस्ने महाधिवेशन आयोजक समितिको बैठकमा यसबारे कुरा उठाउने असन्तुष्ट एक नेताले बताए । ‘जिल्ला तहकालाई कसरी केन्द्रीय सदस्य मान्ने ? यो कुरा आजको बैठकमा जोडदार रुपले उठ्छ,’ ती नेताले भने ।
बादल समूहमा पनि उस्तै
जुनियर व्यक्तिलाई एकैपटक सिनियर बनाइदिने मामलामा बादल पक्ष पनि अछुतो छैन । स्रोतका अनुसार बादल पक्षका वास्तविक केन्द्रीय सदस्य ८४ जना थिए । अहिले १२६ जना केन्द्रीय सदस्य भन्दै एमाओवादीमा मिसिए ।
तर बादल पक्षबाट आएकाहरुमा राज्य समिति सदस्य बनिसकेका व्यक्तिहरु रहेकाले सन्तोष गर्ने ठाउँ रहे पनि तिलक परियार समूहबाट आएकाहरुमा भने गर्न नसकिने नेताहरु बताउँछन् ।
‘बादलले पनि फटाइँ त गरेकै हुन् । तर, उनको पक्षबाट राज्य समिति सदस्यको हैसियतमा भएकाहरु अहिले केन्द्रीय सदस्य बनेका छन् । परियार पक्षबाट आएका डिसिएम लेभलकालाई केन्द्रीय सदस्य कसरी भन्ने ?’ उनले प्रश्न गरे । @अनलाइनखबर

प्रकाशित मिति: May 22, 2016

प्रतिक्रिया दिनुहोस्