Logo
७ बैशाख २०८१, शुक्रबार
(May 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल–चाइना बोर्डर अन्तरगत हिल्सामा २ सयभन्दा बढी मानसरोवरका तीर्थयात्री अलपत्र


काठमाडौं । हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश पर्वतस्थित मानसरोवरका लागि गएका २ सयभन्दा बढी भारतीय तीर्थयात्री गत शनिबारदेखि हुम्ला जिल्लाको हिल्सामा अलपत्र परेका छन् ।  
४ दिनदेखि खराब मौसमका कारण  अलपत्र परेका ५४ जना तीर्थयात्रीलाई सोमबार नेपालस्थित भारतीय दूतावास र हुम्ला जिल्ला प्रशासनको सहयोगमा सदरमुकाम सिमिकोट ल्याइएको छ । २ सयभन्दा बढीको संख्यामा तीर्थयात्री अझै हिल्सामै अलपत्र रहेको बताइएको छ । कैलाश पर्वत, मानसरोवर चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्छ । 
सिमिकोट आइपुगेका भारत मुम्बईका देवेन्द्र सिंहले अलपत्र तीर्थ यात्रीलाई सामान्य खानासम्मको व्यवस्था नभएको गुनासो गरे । ‘तीन दिनसम्म जेनतेन जीवन बितायौं, आज सिमिकोट आइपुगेका छौं तर त्यहाँ रहेका अन्य २ सय भन्दा बढी तीर्थ यात्रीको अवस्था निकै नाजुक छ’, उनले  सञ्चारकर्मीसँग भने, ‘१ जनाको मृत्यु नै भइसक्यो, बाँकी तीर्थयात्री खान नपाएर अशक्त भइसकेका छन् ।’ 
उनका अनुसार ५४ जनालाई सोमबार साँझसम्ममा उद्धार गरिएको छ । उनले भने, ‘सोमबार बिहानदेखि  मात्र उद्धार कार्य थालिएको छ, तर मौसम खराबका कारण र अविरल वर्षा भइरहेकाले उद्धार कार्यमा अवरोध पुगेको हो । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सामाजिक सञ्जालमा ट्विट गर्दे नेपाल प्रहरीको सहयोगमा भारतले उद्धार कार्य थालिएको तर मौसम खराबीका कारण निकै कठिनाइ भइरहेको बताएकी छन् । 
‘विदेश मन्त्रालयले सबै किसिमको प्रयासलाई जारी राखिएको छ, स्वराजले ट्विटमा गरेकी छन्, ‘हामी ईश्वरसँग प्रार्थना गरौं, मौसम सफा होस्, हामी अलपत्र तीर्थयात्रीलाई सकुशल उद्धार गर्न सकौं ।’ यता, काठमाडौंस्थित भारतीय दूतावासका प्रेस इन्फरमेसन एन्ड कल्चर (पिआइसि) विङका प्रमुख रुवी जस्प्रित शर्माले खराब मौसम र ढिलो सूचना आएका कारण उद्धार कार्यमा ढिलो हुन गएको बताएकी छन् ।

‘नेपाली प्रशासनसँग समन्वय गरी हामीले सबै किसिमको प्रयासलाई जारी राखेका छौं अहिलेसम्ममा ५४ जनालाई हेलिकोप्टरबाट उद्धार गरिसकेका छौं’, उनले भनिन्, ‘विकट पहाडीक्षेत्र भएका कारण तत्कालै हिँडेर आउन सकिने अवस्था छैन, हामीले हेलिकोप्टरलाई तयारी अवस्थामा  राखेका छौं, तर त्यहाँको मौसम निकै खराब छ’ ।

हुम्लाका प्रहरी प्रमुख त्रिलोकबहादुर चन्दले पनि मौसम खराबीका कारण उद्धार कार्यमा समस्या परिरहेको बताए । ‘अलपत्र परेकामध्ये भारतीय अतिरिक्त अन्य देशका भारतीय मूलका केही विदेशी नागरिक छन्’, उनले भने, ‘प्रायः ४५ वर्ष उमेर कटेका तीर्थयात्री छन् र सिमिकोट आइसकेकालाई हामीले सवै किसिमको सहयोग गरिरहेका छौं ।’ भारतको विभिन्न राज्यबाट काठमाण्डौ–नेपालगन्ज हुदै मानसरोवर तीर्थयात्राका ती धार्मिक पर्यटक आएका हुन् । 
   

प्रकाशित मिति: May 30, 2016

प्रतिक्रिया दिनुहोस्