Logo
६ बैशाख २०८१, बिहीबार
(June 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेताहरुको व्यवस्थापनमा कुरा नमिल्दा टर्‍यो राजपा र समाजवादी एकता

पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षरपछि सामूहिक फोटो खिचाउँदै दुवै पार्टीका नेताहरु।

शुक्रवार निर्वाचन आयोगको कार्यालयमा दर्ता हुने भनिएको राष्ट्रिय जनता पार्टी र समाजवादी नेपालबीचको एकता लगभग टरेको छ।

राजपाका एक नेताका अनुसार शुक्रबार निर्वाचन आयोगमा कागजात बुझाउने सम्भावना सकिएको छ। दुई पार्टीबीच एकतापछि हुने शक्ति बाँडफाटमा कुरा नमिल्दा एकता भाँडिने अवस्थामा पुगेको हो।

एकीकृत दल जनता समाजवादी दर्ताका लागि शुक्रबारसम्म निर्वाचन आयोगमा कागजात बुझाउनु पर्ने भए पनि बिहीबार साँझसम्म दुई दलबीच सहमति हुन सकेको छैन।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच पार्टी एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ।

वैशाख १० गते राति एकता घोषणा गरेका दुई दलले शनिबार (जेठ २४ गते) सम्म कागजात बुझाउनु पर्ने भए पनि त्यो बुझाउन नसक्ने भएका हुन्।

वैशाख ११ गते निर्वाचन आयोग पुगेर दुई दलका नेताले एकताबारे जानकारी दिए पनि त्यसपछि थप कागजात लिएर जान सकेका छैनन्।

दुई पक्षबीच एकीकृत पार्टीमा कार्यकारी अधिकार कसले लिने र नेताहरुको व्यवस्थापनको विषयमा कुरा मिल्न सकेको छैन। राजपातर्फबाट महन्थ ठाकुरलाई कार्यकारी अध्यक्ष बनाउन प्रस्ताव गरेको छ भने समाजवादीले पनि उपेन्द्र यादवलाई जिम्मेवारी दिनुपर्ने अडान राखेको छ।

बाबुराम भट्टराईलाई सेरिमोनियल संघीय परिषद्को अध्यक्ष बनाउन दुवै पक्ष तयार भए पनि पार्टी सञ्चालनको मुख्य अधिकार कसले लिने भन्नेमा कुरा मिल्न सकेको छैन।

त्यस्तै राजपा अध्यक्ष मण्डलमा रहेका ६ जना नेता र समाजदीतर्फका शीर्ष नेतहरुको व्यवस्था पनि पनि एकताका लागि चुनौतिपूर्ण बनेको नेताहरु बताउँछन्।

ठाकुर र यादव दुवैले पार्टी सञ्चालनको अधिकार बराबर प्रयोग गरेर जान सकिने विकल्पबारे पनि छलफल भइरहको स्रोतले बतायो।

नेता लक्ष्मणलाल कर्णले बिहीबार बिहानैदेखि नेताहरुबीच छलफल भइरहेको जानकारी दिए। उनले भने, ‘नेताहरु बिहानैदेखि छलफलमा हुनुहुन्छ। अहिलेसम्म कुरा मिलिसकेको छैन।’

समाजवादीका तर्फबाट नवराज सुवेदी र राजेन्द्र श्रेष्ठ तथा राजपाबाट कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको कार्यदलले एकीकृत पार्टीको घोषणा पत्र र विधानको मस्यौदा तयार पारेर मुख्य नेताहरुलाई बुझाइ सकेका छन्।

कार्यदलले बुझाएको पार्टीको घोषणापत्रमा निर्वाचन प्रणाली, शासन प्रणाली जस्ता विषय महाधिवेशनले टुंगो लगाउने उल्लेछ। तर मुख्य विषय नेतृत्वको व्यवस्थापन नमिल्दा प्रक्रिया अघि बढ्न सकेको छैन।

समाजवादीका एक नेताले पनि पार्टी एकता प्रक्रिया लगभग अन्त्य भएको जानकारी दिए। ती नेताका अनुसार २४ गते ४५ दिन पुग्ने अन्तिम दिन शनिबार परेकाले आइतबारसम्म आयोगमा जान सकिने कानुनी बाटो भए पनि नेताहरुबीच सहमति जुट्न अवस्था नरहेको बताए।

नाम उल्लेख नगर्ने शर्तमा ती नेताले भने, ‘यस पटकलाई पार्टी एकताको प्रक्रिया अघि बढ्ने अवस्था छैन। नेताहरुबीच नै पार्टीको अधिकार कस्ले लिने भन्ने विषयमा हानाथाप छ।’

एकताको पक्षमा उभिदै आएका राजपाका नेता राजेन्द्र महतो आफूलाई अधिकार विहीन बनाउन लागेको भन्दै असन्तुष्ट बनेका छन्।

राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेर प्रधानमन्त्री ओलीले समाजवादी पार्टी फुटाउन खोजेपछि दुई दलले जवाफ स्वरुप हतार हतार पार्टी एकताको घोषणा गरेका थिए।

पार्टी एकताको लागि प्रयास गर्दै आए पनि नेतृत्वकै विषयमा कुरा नमिल्दा त्यसअघि पनि रोकिएको थियो।

प्रकाशित मिति: Jun 4, 2020

प्रतिक्रिया दिनुहोस्