Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘विनियोजन विधेयक २०७७’ स्वीकृत : कोरोना नियन्त्रणमा रकम अभाव नहुने

प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ स्वीकृत भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले संसद्मा प्रस्तुत गरेको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

विधेयक स्वीकृत हुनुपूर्व विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदले कोरोना नियन्त्रण र त्यसबाट प्रभावित भएका नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताएका थिए । ।

सांसदको जिज्ञासामा अर्थमन्त्री डा खतिवडाले स्वास्थ्य क्षेत्रमा यसपालिको बजेट केन्द्रित भएको स्पष्ट पारे ।

उनले स्वास्थ्य सामग्री खरीदका लागि ५ अर्ब थप निकासा गरिसकिएको र कोभिड-१९ सङ्क्रमण रोक्न राहत कोषमा २ अर्ब ३१ करोड जम्मा भइसकेको जानकारी दिए ।

मन्त्री खतिवडाले भने, “उक्त कोष र विपद् व्यवस्थापन कोषबाट पनि केही रकम परिचालन गर्न सकिने अवस्था छ, सबै स्वास्थ्यका सामान खरीद र ल्याब टेष्टको सामग्र्रीमा खर्च गर्ने हो, सरकारको प्राथमिकतामा रोग नियन्त्रणमा नै छ, रकम अभाव हुन दिइने छैन ।”

उनले सांसदलाई तथ्यमा रहेर आलोचना गर्नसमेत आग्रह गरे । तथ्यमा आधारित भएर आलोचना भयो भने प्रोत्साहित हुने मन्त्री डा खतिवडाको भनाइ थियो ।

दुई विधेयक प्रस्तुत

आजको बैठकमा मन्त्री डा खतिवडाले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७७’, र ‘ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक २०७७’ समेत सदनमा प्रस्तुत गरेका छन् ।

आव २०७७/७८ मा नेपाल सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न राष्ट्र ऋण उठाउन वाञ्छनीय भएकाले विधेयक ल्याइएको मन्त्री डा खतिवडाले बताए ।

उनले संसद्मा आजै ‘ऋण तथा जमानत ९चौबीसौँ संशोधन० विधेयक २०७७’ समेत प्रस्तुत गरे ।

बजेट कार्यान्वयनका लागि खर्च बेहोरिने विभिन्न स्रोतमध्ये विदेशी सरकार वा दातृ निकायबाट लिइने रकमको सीमा १२ खर्बबाट बढाएर १४ खर्ब कायम राखिने विधेयकमा उल्लेख छ ।

सरकारले लिएको ऋणबाट कार्यान्वयनमा रहेको योजना र असार मसान्तसम्म हुन सक्ने भुक्तानी तथा नेपाल सरकारले जमानत दिएको रकमलाई समेत ध्यानमा राखी गरी आगामी वर्ष २ खर्ब ९९ अर्ब ५० करोड बाह्य ऋण परिचालन गर्ने लक्ष्य विधेयकमा छ ।

विसं २०७६ फागुन मसान्तसम्म भुक्तानी गर्न नेपाल सरकारको बाह्य ऋण ६ खर्ब ९९ अर्ब हुने छ ।

प्रकाशित मिति: Jun 1, 2020

प्रतिक्रिया दिनुहोस्