Logo
१३ बैशाख २०८१, बिहीबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मार्किङपछि विमानस्थल सञ्‍चालनमा ल्याइने तयारी : गोल्डन गेटबाट यात्रुले मात्रै प्रवेश पाउने

पछिल्लो ७४ दिनदेखि व्यावसायिक उडानका लागि बन्द गरिएका काठमाडौंसहित मुलुकभरका विमानस्थल सञ्‍चालनमा ल्याइने तयारी थालिएको छ ।

कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि गरिएको लकडाउनपछि विमानस्थलमा पहिले जस्तो भीडभाड गर्न र गराउन पाइने छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डन गेटबाट यात्रुले मात्रै प्रवेश पाउने छन् । आफन्तजनलाई त्यहाँबाट छिर्न निषेध गरिने छ ।

नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले निर्देश गरेअनुसार, महामारीका बेला विमानस्थल कसरी सञ्‍चालन गर्नेबारे विशेष निर्देशिका (एसओपी) जारी गरेको छ ।

त्यसैअनुसार अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मार्किङ गरिएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार, अब विमानस्थल सञ्‍चालनमा आएपछि पहिलेजस्तो भीडभाड गर्न पाइने छैन ।

एयरलाइन्स र यात्रुबाहेक अबका दिन विमानस्थलमा यात्रुको सेवाका लागि रहने ट्याक्सी, क्याफे, विभिन्न निकायका कर्मचारी, कामदार आदिको स्वास्थ्य अवस्था र इमानदारिताको पनि निगरानी हुनुपर्ने छ ।

अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवनमा यात्रुहरुले सामाजिक दूरी कायम गर्नुपर्ने छ । बोर्डिङपास लिन मार्किङ गरिएको रेखा ९तस्बिरमा देखिएका पहेँलो रेखा० मा मात्रै पाइला राखेर काउन्टरमा जानुपर्ने छ ।

अबका दिन दुइटा फाराम अनिवार्य भर्नुपर्ने छ । एउटामा यात्रुको विस्तृत विवरण हुने छ भने अर्कोमा आफू स्वस्थ्य रहेको घोषणा गरेको हुनुपर्ने छ । विस्तृत विवरण ट्रयाकिङ गर्नका लागि राज्यले राख्ने छ ।

टर्मिनल भवनमा स्वास्थ्यकर्मी हुनेछन् । तीनले ज्वरो जाँच्ने छन् । स्यानिटाइजर हुने छ । त्यहाँ खटिने कर्मचारीहरु पनि वायुसेवा कम्पनीहरुले तयार पारेको मापदण्डअनुसार मास्कसहित खट्ने छन् ।

महाप्रबन्धक केसीले विमानस्थल सञ्‍चालनमा ल्याउनुभन्दा ठीक एक हप्ताअघि सरकारले उडान सञ्‍चालनबारे प्राधिकरणलाई जानकारी दिने भनेको छ । त्यसपछि विमानस्थल सञ्चालनमा ल्याइने छ ।

प्रकाशित मिति: May 29, 2020

प्रतिक्रिया दिनुहोस्