Logo
१३ बैशाख २०८१, बिहीबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापाको एउटै गाउँपालिकामा ७३ कोरोना सङ्क्रमित

प्रदेश नं १ स्थित झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ-१९ का सङ्क्रमण भटिएको छ ।

जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २५ जनामा थप कोरोना सङ्क्रमित पुष्टि भएको छ ।

यसअघि ४८ सङ्क्रमित पुष्टि भई उनीहरुलाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र धरान पठाइएको थियो ।

पालिकाका अध्यक्ष अञ्जार आलमले बिहीबार पुष्टि भएका २५ जनालाई थप उपचारका लागि विराटनगर पठाइसकेको बताए ।

उनले सङ्क्रमित हुनेमा सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएर फर्किएका छन् ।

“जति पनि सङ्क्रमित पुष्टि भएकाछन्, उनीहरु सबै क्वारेन्टिनमा बसेका हुन्”, उनले भने, “सीमा क्षेत्रमा आइपुगेका कचनकवलवासीलाई सुरक्षित उद्धार गरेर क्वारेन्टिनमा राख्दा थप समुदाय सङ्क्रमित हुनबाट जोगियो ।”

उनका अनुसार पालिकाभित्रका छ क्वारेन्टिनमा राखिएकामध्ये २७६ को स्वाब सङ्कलन गरी परीक्षणका लागि विराटनगर र धरानस्थित प्रयोगशालामा पठाइएको थियो ।

जसमध्ये ७३ को रिर्पोट सङ्क्रमित पुष्टि भइसकेको छ भने ३५ जनाको रिर्पोट आउन बाँकी रहेको उनको भनाइ छ ।

पालिकाको पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय, महेन्द्र रत्न मावि, बुद्ध आधारभूत विद्यालय र केचना माविमा क्वारेन्टिन निर्माण गरिएको उनले बताए ।

क्वारेन्टिनमा बसेकामध्ये १०० जनाको स्वाब परीक्षण गर्न अझै बाँकी रहेको उनको भनाइ छ ।

अध्यक्ष आलमले भारतका विभिन्न स्थानमा रोजगारी गर्न गएका र अध्ययनका लागि गएकामध्ये ४०० बढी आइसकेको बताए ।

झापामा यसअघि बाह्रदशी गाउँपालिका, गौरादह नगरपालिका दुई–दुई, दमकका एक र झापा गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भइसकेको छ ।

जसमध्ये दमक र बाह्रदशीका एक–एक निको भएर फर्किसकेको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वर पौडेलले बताए ।

पौडलले प्रदेश नं १ मा मात्र सङ्क्रमितको सङ्ख्या १२९ पुगेको र सबैभन्दा बढी झापाको रहेको जानकारी दिए ।

प्रकाशित मिति: May 29, 2020

प्रतिक्रिया दिनुहोस्