Logo
१३ बैशाख २०८१, बिहीबार
(May 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं २ मा कोरोना संक्रमण तिब्र गतिमा बढ्दै, सङ्क्रमित २३२ पुगे

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या २३२ पुगेको छ ।

यस प्रदेशमा आइतबारसम्ममा १७८ जना सङ्क्रमित रहेकामा आज बिहान ५४ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान १०ः४५ बजेको समयमा जारी प्रेस विज्ञप्तिमा थप ७२ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको उल्लेख छ ।

यस प्रदेशका चार जिल्ला रौतहट, बारा, सप्तरी र धनुषामा गरी ५४ जना नयाँ सङ्क्रमित समावेश छ ।

सोमध्ये रौतहटको राजपुर फरहदवाको २, ६, ८ र ९ वडाका साथै इशनाथपुर–२का गरी १८ देखि ५३ वर्ष उमेरका २६ जना नयाँ सङ्क्रमित छन् ।

उनीहरुको स्वाबको नमूनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो । रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या ४९ पुगेको छ । बाराको कलैया नगरपालिका-१को कोटवासीका २५ र ३२ वर्षका दुईजना थपिएका छन् ।

उनीहरुको पनि टेकुस्थित प्रयोगशालामा स्वाब परीक्षण भएको थियो । यसका साथै किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र, हेटौँडामा गरिएको परीक्षणमा बाराका गढीमाई नगरपालिकाका १८ वर्षदेखि ५० वर्ष उमेरका २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यी दुवै नगरपालिकाका २३ जनासमेत गरी यस जिल्लामा सङ्क्रमितको सङ्ख्या ३६ पुगेको छ ।

धनुषाको नगराइन नगरपालिकाका ३०, ३१ र ४५ वर्षका तीनजना गरी अब धनुषामा कोरोना सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । उनीहरुको स्वाबको परीक्षण टेकुस्थित प्रयोगशालामा भएको थियो ।

यसका साथै, सप्तरीको डाक्नेश्वरी गाउँपालिकाका २२ र २४ वर्षका दुईजना थपिएको हो । दुवैको स्वाबको परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको थियो ।

सप्तरीमा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । त्यस्तै सिरहामा एक, महोत्तरीमा चार, सर्लाहीमा ३४ र पर्सामा ९३ जना सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति: May 25, 2020

प्रतिक्रिया दिनुहोस्