Logo
७ बैशाख २०८१, शुक्रबार
(May 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधन प्रस्ताव छिट्टै आउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्शा, निशान छाप र प्रतीकचिह्नसहितको व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव चाँडै संसद्मा ल्याइने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्न एवं जिज्ञासाबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले संविधानको अनुसूची ३ सँग सम्बन्धित संशोधन प्रस्ताव चाँडै संसद्मा ल्याइने जानकारी दिए ।

उनले यसअघि आजै प्रतिनिधिसभाको बैठकमा उक्त अनुसूचीसहित आवश्यकतानुसार अन्य विषयमा पनि संशोधन गर्न सकिने जनाएका थिए ।

नेपालको गुमेको भूभागमा मन कुँड्याएर बसिरहने नभई अब फिर्ता ल्याउनुपर्छ भन्दै उनले दबेर वा हीनग्रन्थीबाट वा कसैले धम्क्यायो भने लच्किएर छिमेक सम्बन्ध नहुने स्पष्ट गरे । उनले भने, “सरकारले नयाँ नक्शा ल्याएको छ । अब अतिक्रमित भूमि फिर्ता ल्याउँछ । केही दिनमा उक्त नयाँ नक्शा प्राप्त हुनेछ ।”

मुख छाडेर नबोली धीतै नमर्ने ’

उनले सांस्कृतिक पुनःउत्थानसहित लोकतन्त्र र अर्थतन्त्रलाई पुनःसंरचना तथा सत्तापक्ष र प्रतिपक्षको भूमिकालाई नयाँ मान्यताका साथ अघि बढाउन आवश्यक रहेकामा जोड दिए ।

सामाजिक सञ्जालमा हेर्न र सुन्न नसकिने खालका कुरा पनि आउने गरेकोमा दुःख व्यक्त गर्दै उनले प्रतिप्रश्न गरे, “हाम्रो संस्कार कस्तो भएर जाँदैछ ? मुख छाडेर नबोली धीतै नमर्ने ?”

प्रधानमन्त्री ओलीले पुराना ज्ञान, शास्त्र, अनुभव र मान्यता महत्वपूर्ण हुने भए पनि पुल बनिसकेपछि जुत्ता खोलेर खोलो तर्र्नुपर्छ भन्ने ज्ञानको पालना गरिरहनु हुँदैन भन्दै संसदीय अभ्यासमा नयाँ अवधारणा अघि सार्न आवश्यक रहेकामा पनि जोड दिए ।

उनले समाजवादोन्मुख गन्तव्य भएको फराकिलो, उचाइयुक्त, व्यापक र जनताको लोकतन्त्रअनुकूल नीति तथा कार्यक्रम अघि सारिएको जनाउँदै गतिशील अर्थतन्त्र र मानव जगत्लाई खुशी पार्ने व्यवस्थाको कार्यान्वयनका लागि सरकार अग्रसर रहेको बताए ।

प्रधानमन्त्री ओलीले सरकारका दूरगामी सोच र स्थिरतामा कुनै अन्योलमा नपर्न आग्रह गर्दै सबै जनताका लागि लोककल्याणकारी राज्यको भावनाका साथ केही पनि खान, लाउन पाएन वा सहारा पाएन भन्ने खालको अशोभनीय र निर्दयी मानव समाज हुन नसक्ने स्पष्ट गरे ।

कसैले अन्न थुपारेर राख्ने र कोही बालबालिका वा ज्येष्ठ नागरिक खानेकुराका लागि सडकमा कुकुरसँग लडिरहेको हुने खालको समाज आफूहरुले अन्त्य गर्ने जनाउँदै पछिल्ला दिनमा काठमाडौँ उपत्यकाका सडकमा मागेर हिँड्ने कुनै पनि मानव नरहेको बताए ।

उनले मुलुकलाई तुइनमुक्त बनाइएको जनाउँदै अब चाँडै साक्षर नेपाल घोषणा गरिने उद्घोष गरे । कोरोनाको विनाशलीला कायम रहेका स्थितिमा ठूलाठूला देशलाई समेत ध्वस्त पारेको उल्लेख गर्दै नेपालमा पाइने बेसार, लसुन, प्यास, कागती आदि सेवा गरिरहनु स्वास्थ्यका लागि उपयोगी हुने सन्दर्भ उल्लेख गरे ।

प्रकाशित मिति: May 19, 2020

प्रतिक्रिया दिनुहोस्