Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधन तयारी : संसदको स्वीकृतसँगै नयाँ नक्सा प्रयोगमा ल्याईने

सरकारले स्वीकृत गरेसँगै नयाँ नक्सा अबदेखि सरकारी निशान छाप, सरकारी कामकाजमा प्रयोग हुने नक्सा, विद्यालयमा पढाइने पाठ्यपुस्तकमा प्रयोग हुनेछ ।

संघीय सरकारको भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ ।

सरकारले लिम्पियाधुरा समेतलाई समेटेर नयाँ नक्शा जारी गरेपछि अब नेपालको संविधान संशोधन गर्नुपर्ने भएको छ ।

नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान छाप उल्लेख छ ।

सो निशानछापभित्र नेपालको पुरानो नक्सा अंकित भएकाले अब त्यसलाई सच्याएर संविधानमै नयाँ नक्शा अंकित निशान छाप राख्नुपर्ने भएको छ ।

र, यसका लागि संसदको दुई तिहाई बहुमतले संविधान संशोधन गरी निशान छाप फेर्नुपर्ने हुन्छ ।

नयाँ नक्सामा संघीयताअनुरुपका प्रदेश र स्थानीय तहसँगै भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटे पनि अरु अन्तर्राष्ट्रिय सीमाहरु यथावत् नै छन् ।

त्यसका साथै अब विभिन्न सरकारी कार्यालय र दूताबासहरुले प्रयोग गर्ने नेपाल सरकारको लोगो परिवर्तन गरी नयाँ नक्शाका आधारमा बनाउनुपर्ने भएकाले सबै सरकारी कागजातहरु सच्याउनुपर्ने भएको छ ।

त्यस्तै विद्यालयका पाठ्यक्रमहरुमा पनि नयाँ नक्शा अनुसार परिमार्जन गर्नुपर्ने भएको छ ।

सरकारका प्रवक्ता एवं मन्त्री डा. युवराज खतिवडाले संविधानको अनुसूची लगायत सरकारी लोगो प्रयोग गर्ने सबै ठाउँमा सच्याएर नयाँ नक्शा अनुसार बनाइने प्रतिक्रिया दिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको नक्शा सच्याउने निर्णय गरेको हो ।

बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक काम भएको बताएका थिए ।

यसैवीच सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुबारे जवाफ दिने क्रममा मंगलबार प्रधानमन्त्री ओलीले नक्सा परिमार्जनबारे संसदलाई औपचारिक जानकारी दिने कार्यक्रम रहेको स्रोतले बतायो ।

‘नयाँ नक्सामा उत्तरी, पूर्वी दक्षिणी र पश्चिमी अन्तर्राष्ट्रिय सीमासँगै राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेको छ,’ उनले भने, ‘यो नक्सा अब सरकारले सबै किसिमका प्रशासनिक र सबै प्रबन्धहरुमा लागू गर्ने गरी अगाडि बढाएको छ ।’

नयाँ नक्सा अबदेखि सरकारी निशान छाप, सरकारी कामकाजमा प्रयोग हुने नक्सा, विद्यालयमा पढाइने पाठ्यपुस्तकमा प्रयोग हुनेछ ।

 

प्रकाशित मिति: May 18, 2020

प्रतिक्रिया दिनुहोस्