Logo
१५ चैत्र २०८०, बिहीबार
(May 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रको मुख नताकेर यी हुन् भारतसँग जोडिएको सीमामा काँडेतार लगाउने वडाध्यक्ष !

नेपाल-भारतको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार नै लगाइदिएका छन् ।

प्रदेश २ स्थि पर्साको ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएका हुन् ।

वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जानकारी दिए ।

कोरोना संक्रमणको सन्त्रासपछि गत ११ चैतदेखि सरकारले देशभर लगाएको ‘लकडाउन’ पछिको हालसम्मको अवधिमा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ ।

यो अवधिमा वडाभित्रका भारतसँग सीमा जोडिएका १ हजार ८ सय मिटर क्षेत्रमा तार लगाउन बाँकी रहेकामा भारतीय पक्षको अवरोधपछि ३ सय मिटर तार लगाउने काम रोकिएको छ ।

सो क्षेत्रमा दुवैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति रहेको उनले जनाएका छन् ।

‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें,’ वडाध्यक्ष लामाले भने, ‘भारतीय पक्षले विवाद गराएर अवरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो । त्यो पनि सहमतिबाट छिट्टै सुरु हुन्छ ।’

वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको जानकारी दिए ।

२०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको उनले बताएका हुन् ।

‘आठ वर्षदेखि भारत गएको छैन’
भारतसँगको सीमा विवादको विषयकै कारण विगतदेखि नै आफू सीमा क्षेत्र कटेर भारततर्फ नगएको उनी बताउँछन् ।

भरतीय पक्षसँगको विवादका कारण पटक–पटक ठोरीमा भएका झडपका घटनामा अग्रपंक्तिमा रहेका कारण आफू भारततर्फ जाने वातावरण नरहेको उनले जनाए ।

‘धेरै पहिलेदेखिका सीमा विवादका घटनामा उनीहरूको नजरमा म बाधक छु । कहिले सीमा, कहिले कुलो र कहिले पुलका विषयमा विवाद हुन्छ । म त्यता नगएको आठ वर्ष भयो,’ लामाले भने ।

देशभरका सबै सीमा नाकामा पर्ने स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा पर्ने सीमा क्षेत्रमा तार लगाए वर्षैपिच्छे विवादको विषयमा अल्झिन नपर्ने उनी बताउँछन् भन्दै राजधानी दैनिकमा खबर छ ।

‘देशभरका सीमा क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधि ताते सधैंका लागि सीमा विवाद टुंग्याउन सकिन्छ । सरकारबाट हुने सहयोग रहे असम्भव छैन,’ लामाले भने ।

ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले तारबारपछि एकातिर सीमा क्षेत्रमा हुने अवैध गतिविधि बन्द भएको र अर्कातिर भारततर्फको जंगलबाट आउने जंगली जनावरबाट आजित भएका स्थानीयहरु खुसी भएको बताए ।

‘तारबार हुँदा दुवैतर्फ हुन सक्ने अवैध गतिविधि रोकिएको छ, अर्कातिर भारततर्फको जंगलबाट आउने जंगली जनाबरबाट खेतीबाली पनि जोगिएको छ,’ गाउँपालिका अध्यक्ष श्रेष्ठ भन्छन् ।

स्थानीय युवा छतेन्द्र आचार्यले भने ठोरी–३ का वडाअध्यक्षबाट देशले नै सिक्नुपर्ने बताए । ‘वडा अध्यक्षज्यूले देशलाई नै सिकाउने गरी उदाहरणीय काम गर्नुभयो ।

सरकार र सबै स्थानीय तहले चाहे असम्भव केही छैन भन्ने देखियो,’ आचार्यले भने ।

प्रकाशित मिति: May 15, 2020

प्रतिक्रिया दिनुहोस्