Logo
१३ बैशाख २०८१, बिहीबार
(May 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज नेपाल एयरलाइन्स जहाज बेइजिङ र सिड्नी उड्दै

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ ।

निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका हुन् ।

उडान तालिकाअनुसार पहिलो चार्टर्ड उडान अष्ट्रेलियाको सिड्नीमा हुनेछ । वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः३० बजे उड्ने र भोलिपल्ट साँँझ ५ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ ।

दोस्रो जहाजले साँझ ५ः३० बजे बेइजिङमा कार्गो उडान गर्नेछ । भोलिपल्ट काठमाडौँ फर्कने तालिका छ । दुवै अन्तर्राष्ट्रिय गन्तव्यको उडान निर्धारित तालिकामै हुने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए  ।

प्रवक्ता खड्काका अनुसार नेपालमा रहेका २६४ अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्न लागेको छ । वाइडबडी जहाज अष्ट्रेलियाबाट रित्तै फर्कनेछ ।

लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौँ उडान हुने जनाइएको छ । निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टड उडन गरेको थियो । मलेशिया ट्रान्जिट हुँदै अष्टेलियासम्मको यो उडान करिब १३ घण्टाको थियो ।

निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कँदा सिधैँ काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौँ–सिड्नी साँढे १२ घण्टाको उडान हुनेछ ।

बेइजिङ पहिलो र ऐतिहासिक उडान

नेपाल एयरलाइन्सको बेइजिङ उडान पहिलो र ऐतिहासिक उडान हुनेछ । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको निगमले उल्लेख गरेको छ ।

काठमाडौँ–बेइजिङ करिब सात घण्टाको उडान हुनेछ । निगमले यसअघि चीनको साङ्घाइ हुँदै जापानको ओसाका उडान गर्ने गरेको थियो ।

सन् १९८४ ताका निगमले सो गन्तव्यमा उडान शुरु गरेको भए पनि अप्रिल १२ सन् २००७ मा जहाज अभावले ओसाका उडान बन्द भएको थियो ।

अघिल्लो वर्ष भदौ १२ देखि पुनः उडान शुरु गरिए पनि विसं २०७६ फागुन १९ देखि जापानकै नारिता उडान शुरु भएपछि ओसाका गन्तव्यको उडान बन्द भएको थियो ।

निगमले चीनको ग्वान्जाओमा व्यावसायिक उडानका लागि अनुमति पाएको थियो । नेपालमा कोभिड–१९ नियन्त्रणका लागि लकडाउन गरिएपछि उडान हुनसकेको छैन ।

बेइजिङलगायत गन्तव्यमा निरन्तर पहल गरिए पनि अझै उडान अनुमति पाउन सकेको छैन । अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने नेपालको निजी लगानी र चीनको संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले चीनको बेइजिङ र छोङ्गिनलगायत गन्तव्यमा उडान गर्दै आएको छ ।

निगमले भने (शुरुको साङ्घाइ उडानबाहेक) अहिलेसम्म चीनमा व्यावसायिक उडान गर्न पाएको छैन । बेलाबखत कार्गो तथा चार्टर्ड उडान मात्रै हुदैँआएको छ ।

प्रकाशित मिति: May 6, 2020

प्रतिक्रिया दिनुहोस्