Logo
१३ बैशाख २०८१, बिहीबार
(May 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२अर्बभन्दा बढी लगानिमा विश्वकै अग्लो कलश निर्माणको कार्य धमाधम हुँदै

यति बेला कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनका कारण देशभरिका विकासका आयोजनाहरुको  काम ठप्प रहेका बेला बागलुङमा भने एक धार्मिक संस्थाले भने पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको कामलाई तीव्र पारिएको छ ।

बागलुङ नगरपालिका–६ पञ्चकोटमा निर्माणाधीन विश्वकै अग्लो विश्वशान्ति कलश फाउण्डेशनको काम तीव्र पारिएको हो । लकडाउनका कारण यहाँका मजदुरलाई रोकिनुपरेको छैन ।

सामाजिक दूरी कायम गर्दै पञ्चकोटमा पूर्वाधार निर्माणको काम चलेको छ । पञ्चकोटमा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको अगुवाइमा स्थापित ‘अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रस्ट’ ले विश्व शान्ति कलश, मुक्तिनाथ महाघण्टलगायतका पूर्वाधार निर्माणको काम गरिरहेको छ ।

गत माघ महिनामै दक्षिण भारतका मजदुर ल्याएकाले हाल कलशको फाउण्डेशन निर्माण भइरहेको स्वामी कमलनयनाचार्यले बताए ।

छ वर्षअघिदेखि सहायक पूर्वाधार निर्माण भइरहेको पञ्चकोटमा चैतबाट मुख्य कलश निर्माणको काम शुरु भएको हो । धार्मिक पर्यटकीय गन्तव्य विकास गर्ने उद्देश्यले बानपा–६ सर्वसिद्धि धाम पञ्चकोटमा कलश र मुक्तिनाथ महाघण्ट बनाउन लागिएको उनले बताए ।

पञ्चकोटलाई ‘विश्वशान्ति सर्वसिद्धिकोट जयश्री मुक्तिनाथ धामस्थल’ विकास गर्न ६ वर्ष पहिलेदेखि भौतिक संरचना निर्माणको काम भइरहेको छ ।

१३५ फिट अग्लो कलश निर्माणका लागि १२ मिटर गहिराइको २४ वटा पिल्लरमध्ये १८ वटा पिल्लरको काम सकिएको सर्वसिद्धिधाम पञ्चकोटका कार्यालय सचिव रामबहादुर केसीले बताए ।

एक सय ७५ रोपनी क्षेत्रफलमा बनाउन लागिएको उक्त धार्मिकस्थलको विकास निर्माणका लागि  दुई अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

कलश निर्माणमा मात्रै  ३२ करोड लागत लाग्ने जनाइएको छ । उक्त स्थलमा पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट पनि बन्नेछ ।

आकर्षक धार्मिक मठमन्दिर निर्माण गरेर हिन्दू र बौद्ध धर्मको गन्तव्य बनाउन लागिएको पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए । कलश निर्माणसहित पञ्चकोटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर काम अघि बढाएको छ  ।

हाल विभिन्न संरचना निर्माणाधीन रहेको पञ्चकोटमा करिब रु १६ करोड लगानी भइसकेको छ । हालसम्म गरुड शिला, गण्डकी माताको मन्दिर, सिसमहल, अन्य देवदेवीका मन्दिर र हनुमानको मूर्ति स्थापना भइसकेका छन् ।

पाँच हजार ५५५ केजीको घण्टा स्थापनाको तयारी छ । त्यस्तै, सत्तल र धर्मशालाको भवनसमेत निर्माण गरिएको छ ।

तामाको कलश बनाइने भएकाले खर्चिलो हुने समितिले जनाएको छ । सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा दाताबाट दान सहयोग जुटाएर काम भइरहेको छ ।

पञ्चकोटमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । यहाँ दैनिक ५०० देखि हजारजनासम्म घुम्न आउने गरेको भए पनि देशमा कोरोनाका कारण पर्यटक आगमन ठप्प भएको छ ।

बागलुङ नगरपालिकाका ताराजालकोट, राङ्राङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माण गरेर पञ्चकोट धार्मिक गन्तव्य बनाउने बृहत् गुरुयोजना शुरु भएको थियो ।

प्रकाशित मिति: May 4, 2020

प्रतिक्रिया दिनुहोस्