Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको उपचारका क्रममा निधन

बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।

अभिनेता अमिताभ बच्चनले पनि कपूरको मृत्युको पुष्टि गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘उनी गए.. ऋषि कपूर… गए..अहिले भर्खर बिते…म विक्षिप्त भएको छु ।’

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए ।

गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्‍सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।

सामाजिक सञ्जालमा निकै सक्रिय ऋषिले अप्रिल २ यता केही पोस्ट गरेका थिएनन् । त्यसअगाडि उनले दीपिका पादुकोणसँग फिल्म खेल्न लागेको घोषणा गरेका थिए ।

यो फिल्म हलिउड फिल्म ‘द इर्टन’को हिन्दी रिमेक हुनेछ । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् ।

सन् १९५२ मा जन्मिएका ऋषि पहिलो पटक ‘मेरो नाम जोकर’ (१९७०)मा बालकलाकारका रुपमा देखिएका थिए । उनका पिता राज कपूरले निर्देशन गरेको यही फिल्मबाट उनले नेसनल अवार्ड जिते ।

त्यसको तीन वर्षपछि उनको पहिलो लिड रोल भएको फिल्म सार्वजनिक भएको थियो, ‘बब्बी’ । यसबाट उनले उत्कृष्ट अभिनेताको फिल्मफेयर अवार्ड जिते ।

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्