Logo
११ बैशाख २०८१, मंगलबार
(April 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा हावाहुरीद्वारा १ करोड बढीको केराखेती नोक्सान

बाग्मती प्रदेश स्थित पूर्वी चितवनमा हावाहुरीले ठूलो परिमाणमा केराखेती नोक्सान गरेको छ ।

भारी वर्षासहित शुक्रबार बेलुकीको आएको हावाहुरीले करिब १ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । हावाहुरीले रत्ननगर, कालिका, राप्ती नगरपालिकादेखि पिप्लेसम्मको केरा नष्ट गरेको हो ।

यस्तै पश्चिम चितवन क्षेत्रका केरा बारीसमेत नोक्सान भएको कृषक बताउँछन् । बन्दाबन्दीका कारण तयार भएको केरा बजारमा लैजान नसकेको अवस्थामा हावाहुरीले सयौँ किसानका केरा नोक्सान गरेको हो ।

कुन किसानको कति केरा नोक्सानी भएको भन्ने यकिन तथ्याङ्क आइनसकेको केरा उत्पादक सङ्घका निवर्तमान अध्यक्ष बिष्णुहरि पन्तले जानकारी दिए ।

उनले सबै तथ्याङ्क आउन केही दिन लाग्ने बताए । अन्य अन्नबाली धान, गहुँ, तोरीलगायत खेती गर्न छाडेर बैंकबाट ऋण लिएर केराखेती थालेका कृषकलाई प्राकृतिक प्रकोपले विनास ल्याउंँदा बैंकको ब्याज कसरी तिर्ने, बालबच्चा कसरी पढाउने, मजदुरको पारिश्रमिक कसरी तिर्ने र पुनःखेती कसरी सिर्जना गर्ने भन्ने चिन्ता बढेको कृषकको दुखेसो छ ।

हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुगेको छ । जिल्लाकै पकेट क्षेत्र मानिएको यो क्षेत्रमा उत्पादन हुने केरा देशभरि नै खपत हुँदै आएको थियो ।

हावाहुरीकै कारण एउटै किसानको लाखौँको क्षति पुगेको छ । केही किसानले बोटको बीमा गरे पनि अधिकांश किसानले बीमा गरेका छैनन् । त्यसलै पनि अधिकांश कृषक चिन्तित छन् ।

यता रत्ननगरका केही केरा व्यवसायीले केरा नष्ट भए पनि अवलोकन गर्न समितिबाट प्रतिनिधि केराबारीमा नआएको गुनासो गरेका छन् ।

लकडाउनका कारण पूर्ण क्षति भएको र किसान आफैँ जान नसकेको व्यवसायी बाबुराम भट्टले बताए ।

प्रकाशित मिति: Apr 19, 2020

प्रतिक्रिया दिनुहोस्