Logo
६ बैशाख २०८१, बिहीबार
(April 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा संक्रमितको संख्या १३ पुग्यो : वीरगञ्जबाट कैलाली पुगेकी महिलामा कोरोनाको संक्रमण

क्वारेन्टाइनमा बसेर घर फर्किएकी कैलालीको लम्कीचुहा नगरपालिका-१ लम्कीकी एक महिलामा कोरोनाको संक्रमण देखिएको छ ।यससँगै अब नेपालमा संक्रमितको संख्या १३ पुगेको छ । सुदूरपश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ।

उनी चैत ९ गते वीरगञ्जबाट कैलाली जिल्लामा आएको बुझिएको छ । वीरगञ्जमा चियापसल गर्ने उनी लम्कीचुहाको भुरुवामा आफन्तसँग बसेकी थिइन् ।

उनी वीरगञ्जबाट आएको थाहा पाएपछि स्थानीय जनप्रतिधिनिले चैत १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए।

कोरोना पोजेटिभ देखिएकी भनिएकी ति महिलालाई अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।

धनगढीका तीन र कञ्चनपुरका एक संक्रमितको पनि यही अस्पतालमा उपचार भइरहेको छ। र्‍यापिड टेस्टेमा नेगेटिभ देखिएकी ती महिलाको पीसीआरबाट गरिएको परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई सेती अस्पतालको एम्बुलेन्समा धनगढी पठाइएको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले बताए ।

स्वास्थ्य मन्त्रालयस्रोतले पनि कैलालीकी एक महिलामा संक्रमण देखिएको बताएको छ। प्रहरीका अनुसार वीरगन्जमा चिया पसल चलाउने ती महिला लकडाउनअघि कैलाली आइपुगेकी थिइन्।

उनीसहित १७ जनाको टोलीलाई र्‍यापिड डाइग्नोस्टिक टेस्टमा नेगेटिभ देखिएपछि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट आइतबार साँझ घर पठाइएको थियो।

तर, सोमबार बिहान उनको रिपाेर्ट पोजिटिभ देखिएको खबर आएको मेयर बजगाईंले बताए। ‘पोजिटिभको खबर आएपछि बाँकीलाई फेरि क्वारेन्टाइनमा ल्याइको छ। कसैमा पनि लक्षण देखिएको छैन। अरूको पनि पीसीआर परीक्षणको नतिजा पर्खिइरहेका छौं,’ उनले भने।

यसअघि लम्कीचुहाकै २१ वर्षीय युवकमा कोरोना संक्रमण पाइएको थियो।

प्रकाशित मिति: Apr 13, 2020

प्रतिक्रिया दिनुहोस्