Logo
१३ बैशाख २०८१, बिहीबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख ३ सम्म लकडाउन लम्बियो : संसदको हिउँदे अधिवेशन अन्त्य राष्ट्रपतिलाई सिफारिस

सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो। कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले थप लकडाउन अवधि बढाएको हो।

गत शनिबार एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण नतिजा सार्वजनिक भएसँगै थप चुनौती थपिएको छ। यसअघि सरकारले चैत ११ गतेदेखि लागू एक हप्ता लकडाउन गरेको थियो।

त्यसपश्चात पनि चैत १८ गते थप एक हप्ता लकडाउन गर्ने घोषणा गरेको थियो। दोस्रोपटक थप गरेको अवधि भोलि सकिनै लाग्दा सरकारले फेरि लकडाउन अवधि थप गरेको हो।

हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन्। एक जना उपचार पछि फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ।

त्यस्तै, बैठकले संसदको जारी हिउँदे अधिवेशनको अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ।

संसदमा रहेका दलहरूसँग मन्त्रिपरिषदको बैठकको निर्णय छलफल गर्ने तथा समन्वय गर्ने जिम्मेवारी कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिबमाया तुम्बाहाङफेलाई जिम्मेवारी दिएको छ।

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।

प्रकाशित मिति: Apr 6, 2020

प्रतिक्रिया दिनुहोस्