Logo
१२ बैशाख २०८१, बुधबार
(April 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन असर : प्रसिद्ध चन्द्रभैरवको जात्रा स्थगित

कोरोना भाइरसको सम्भावित जोखिम फैलिन नदिन सरकारले देशभरिनै लकडाउन गराए पछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगित गरिएको छ ।

प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म ३ दिन चन्द्रभैरवको जात्रा मनाउने चलन गोदावरी नगरपालिका–११ स्थित चापागाउँको बुलुमा रहेको थियो ।

यस वर्ष जात्रा गर्न नसकिने भएपछि सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजाआजा मात्र चलाउन अनुरोध गरिएको वडाध्यक्ष नीलबहादुर देशारले जानकारी दिएका छन् ।

यो जात्रा वर्षको एकपटक मनाउने गरिन्थ्यो । चैतको एकादशीको दिन बुलुको मुख्य चोकमा भैरवलाई खट बनाई राखेर पूजा गरिन्थ्यो । पूजाआजा सम्पन्न भएपछि गुठीयारले भोज गर्थे ।

चैत द्वादशीको दिन यी देवतालाई बुलुका श्रेष्ठहरुको आँगनघरमा खटमा राखी पूजा गर्ने चलन रहेको थियो । चैत त्रयोदशीका दिन बुलुगाउँको टोलटोलमा चन्द्रभैरव र गणेशलाई राखी पूजा गरिन्थ्यो ।

पूजापछि दिउँसो ४ बजेबाट रथजात्रा गर्ने चलन रहेको चापागाउँका स्थानीय ७४ वर्षीय वासुदेव कर्माचार्यले बताए । उनले भने, “चापागाउँ स्थापना हुनुअघि बुलुगाउँ रहेको थियो ।

बुलुगाउँलाई शिवपुरी पनि भनिन्थ्यो । महामञ्जुश्रीले सन्तानेश्वर महादेवको सिमाना, बाडेगाउँबीचको पहाड र चोभारको पहाडलाई तान्त्रिक तरबारले छेड्ने गरी काटेर दहको पानी निकालेको भन्ने किंवदन्ती यहाँ रहेको छ ।

यस तालको पानी सुक्नुभन्दा पहिले एक स्थानमा नागराजलाई राख्नुपर्छ भन्ने हेतुले नागलाई राखेकाले त्यस स्थानको नाम नागदह भयो । यो धापाखेलमा पर्छ ।

जब पानी सुक्यो, दक्षिण भेगमा एउटा गाउँ चाहिन्छ भनी यस गाउँको नाम शिवपुर भयो । पानी सुकेपछि यस स्थानमा पशुपति महादेव उत्पत्ति भएको किंवदन्ती पनि छ ।

बुलुगाउँका पूर्वतिर महादेव रहेका छन् ।” बुलुगाउँमा एक व्यक्तिले बदमासी गरेकाले त्यसको मुख नहेर्ने भनी अरु सबै व्यक्ति छाडेर गएकाले महादेव पनि यहाँबाट पशुपतिमा गएको किंवदन्ती रहेको कर्र्माचार्यले जानकारी दिए ।

बुलुगाउँबाट महादेव र अरु मानिस उठेर गएपछि सो शिवपुर गाउँ धमिलो भई नराम्रो वातावरणमा परिणत भएर गाउँको शोभा नै हराइ डरलाग्दो भयो । त्यसको धेरै वर्षपछि गाउँमा भएका सबै घरहरु भत्केर एउटा परिवार मात्र बसोबास गरिराखेको थियो ।

गाउँ नै अँध्यारोमा परिणत भएकाले यसलाई नेवारी भाषाबाट शिवपुर बुलुसिच्वों अर्थात् बुलु नामाकरण गरिएको हो । हालसम्म बुलुगाउँको शिलापत्र फेला नपरेकाले यो जात्रा कसले र किन चलायो भन्ने कुरा अनुसन्धानमा मात्र सीमित भइरहेको स्थानीयवासीको मत छ ।

भनिन्छ, बुलुगाउँमा एउटा अचम्मको शक्ति छ । यस गाउँबाट कसैले पुराना सामग्री बाहिर अन्य स्थानमा लगेमा नराम्रो आवाज दिन्छ ।

पुराना सामान लाँदा आवाज दिन्छ भन्ने थाहा पाउने व्यक्तिले अहिलेसम्म पनि पुराना सामान गाउँबाहिर लैजाँदैनन् । एक गाउँबाट अर्को गाउँमा पुराना सामान लाँजादा रातभरि सुत्न पाइँदैन भन्ने मान्यता बुलुवासीमा अझै रहेको देखिन्छ ।

यो मान्यतालाई बुलुगाउँमा दैविक शक्तिको परिभाषा दिइएको छ ।

प्रकाशित मिति: Apr 5, 2020

प्रतिक्रिया दिनुहोस्