Logo
४ बैशाख २०८१, मंगलबार
(April 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना र लकडाउनको संकटबीच कपिलवस्तुमा भीषण आगलागी, न्यून आय भएकाहरूलाई थप पीडा

कोरोना र लकडाउनको संकटबीच प्रदेश ५ स्थित कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा शुक्रबार आगलागी हुँदा २५ घर-गोठ जलेका छन् । आगलागी भएको बस्ती न्यून आय भएका व्यक्तिहरूको बसोबास रहेको क्षेत्र हो ।

विजयनगर गाउँपालिका–१, गुगौलीमा शुक्रबार अपराह्न ४ः३० बजे आगलागी हुँदा २५ घर तथा गोठ जलेर नष्ट भएको कपिलवस्तुका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक दीपशमशेर राणाले जानकारी दिए ।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

राणाका अनुसार, घटनामा कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र नगद गरी एक करोडभन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
आगलागी स्थानीय काशीनाथ यादवको घरबाट सुरु भएको थियो । आगलागी भएको गुगौली, सदरमुकाम तौलिहवाबाट करिब ४५ किलोमिटर पश्चिममा पर्छ ।

आगो करिब दुई घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । तौलिहवाबाट आएको एउटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

दमकल ढिलो आउँदा आगो नियन्त्रणमा समस्या भएको थियो । प्रहरी उपरीक्षक राणा समयमा दमकलको व्यवस्था नहुँदा बढी क्षति भएको स्वीकार्छन् ।

‘कृष्णनगरको दमकल बिग्रिएकाले तौलिहवाको दमकल बोलाउनु परेको थियो । तौलिहवाबाट दमकल आउन केही ढिला भएकाले धेरै घरहरू जले,’ प्रहरी उपरीक्षक राणाले भने ।

तस्वीरहरू : नारद कोहार, कपिलवस्तु

प्रकाशित मिति: Apr 3, 2020

प्रतिक्रिया दिनुहोस्