Logo
६ बैशाख २०८१, बिहीबार
(April 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिपोर्टमै शंका : पोखरामा परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’, काठमाडौं पठाएर परीक्षण गर्दा ‘नेगेटिभ’

गण्डकी प्रदेश स्थित पोखरामा दुई दिनअघि स्थापना गरिएको कोरोना परीक्षण केन्द्रमा एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने ‘नेगेटिभ रिपोर्ट’ आएको बताइएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।

तर, ती व्यक्तिको स्वाब थप परीक्षणका काठमाडौं पठाएर परीक्षण गर्दा भने नेगेटिभ आएको बताइएको छ ।

कोरोनाको परीक्षण कम्तीमा तीनपटकसम्म गरिने हुँदा पहिलो परीक्षणमा पोजिटिभ देखिएपछि पोखराले दोस्रो परीक्षणका लागि काठमाडौं पठाएको थियो ।

दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनको पुनः परीक्षण गर्न लागिएको जनाइएको छ ।
उता, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले भने पोखरामा कुनैपनि व्यक्तिको रिपोर्ट हालसम्म पोजिटिभ नआएको दाबी गरेका छन् ।

केही सञ्चारमाध्यमले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको हवाला दिँदै कास्कीमा एकजना व्यक्ति कोरोनाबाट संक्रमित भएको जनाएका छन् ।

सामाजिक सञ्जालमा समेत विभिन्न पदमा रहेका व्यक्तिहरुलेसमेत आफ्नो ‘स्टाटस’मा सातौं व्यक्ति कोरोनाबाट संक्रमित भएको लेखेका छन् ।

पोखरामा दुई दिनअघिदेखि कोरोना परीक्षण सुरु भएको हो । यहाँबाट आएका नतिजाको पुष्टि गर्न हालसम्म चारओटा नमुना काठमाडौं पठाइसकिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका नवराज शर्माले जानकारी दिए ।

प्रकाशित मिति: Apr 3, 2020

प्रतिक्रिया दिनुहोस्