Logo
१५ चैत्र २०८०, बिहीबार
(April 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हल्लाको पछि नलागौं, SEE सहित कुनै पनि परीक्षाको मिति तोकिएको छैन : संघीय शिक्षामन्त्री

संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईईसहित कुनै पनि परीक्षाको मिति नतोकिएको स्पष्ट पारेका छन् ।

एसईई परीक्षा सम्बन्धी भ्रामक प्रचार आएकोप्रति आफू गम्भिर भएको भन्दै उनले त्यस्ता भ्रामक र असंवेदनशिल प्रचारको पछि नलाग्न आग्रह गरेका छन् ।

मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत कुनै पनि परीक्षाको नयाँ मिति नतोकिएको स्पष्ट पारेका हुन् । यसअघि सामाजिक सञ्जालमा एसईई वैशाख २१ गते हुने भनेर हल्ला फैलाइएको थियो ।

‘लकडाउन पछिल्लो गम्भिर अवस्थामा अप्रिल फुल मनाउने नाममा एसईई सम्बन्धी भ्रामक–असंवेदनशिल प्रचार र सोचबाट मुक्त हुन सबैलाई अनुरोध गर्दछु’ मन्त्री पोखरेलले समाजिक सञ्जालमार्फत भनेका छन्, ‘बैशाख ८ मा तय भएको कक्षा १२ लगायत सबै तहका स्थगित परिक्षाहरु सुचारु गर्न चैत्र २५ गतेपछि विकसित परिस्थितिको मूल्याकंन गर्दै नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरी समिति, विज्ञलगायत सबैको सुझावका आधारमा मन्त्रालय र सम्बद्ध निकायहरुले थप निर्णय लिनेनैछन् । साथै यस सम्बन्धमा कुनै पनि सूचना आधिकारिक निकायहरुबाट मात्र लिन पनि म सबैमा अनुरोध गर्दछु ।’

मन्त्री पोखरेलले लकडाउनको समयमा घरबाहिर ननिस्कन पनि सबैलाई आग्रह गरेका छन् । ‘अहिलेको अवस्थामा हामी जो जहाँ छौं त्यहीँ बस्नुपर्छ, घरबाट बाहिर अत्यावश्यक काम बाहेक निस्कनु हुँदैन’, उनले भनेका छन्, ‘कोरोना संक्रमण लाग्नबाट जोगिन स्वास्थ मन्त्रालय र आधिकारिक निकायहरुले सूचित गरेका सतर्कताका विधिहरु सबैले अपनाउनु पर्दछ ।’

एसईई परिक्षामा भाग लिने विद्यार्थीहरुका साथै कक्षा ९ का विद्यार्थीहरु लक्षित विभिन्न बिषयको कक्षाहरु (शनिबार र आइतबारबाहेक) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भईरहेका पनि उनले जानकारी दिए । उक्त कार्यक्रमबाट लाभ लिन विद्यार्थीहरुलाई मन्त्री पोखरेलले आग्रह गरेका छन् ।

संकट लम्बिएको अवस्थामा शिक्षात्मक गतिविधिलाई निरन्तरता दिन विभिन्न पद्धतिहरुको प्रयोग गरिने उनले बताए ।

मन्त्रालयको सहजीकरणमा शिक्षा प्रणालीमा भएका सरकारी, सामुदायिक र निजि श्रोतहरुको समन्वयन गर्दै डिजिटल पद्धतिका साथै रेडियो टि.भि जस्ता अन्य सान्दर्भिक र ब्यवहारिक माध्यम र पद्धतिहरु पनि प्रयोगमा ल्याउन सकिने मन्त्री पोखरेलको भनाई छ ।

प्रकाशित मिति: Apr 3, 2020

प्रतिक्रिया दिनुहोस्