Logo
१२ बैशाख २०८१, बुधबार
(April 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन लम्बिदै : सरकारले विद्यार्थीको घर-घरमै कक्षा चलाउने, शिक्षा मन्त्रालयको प्राविधिक तयारी

देशभर लगाईएको लकडाउन लम्बिएर बालबालिकाले कक्षाकोठामा उपस्थित भई अध्ययन गर्न नसक्ने अवस्था आए शिक्षा मन्त्रालयले मिडिया प्रविधि मार्फत पढाउने तयारी गरेको छ ।

अनलाइन, टेलिभिजन, रेडियो तथा केबल टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्ने विषयमा शिक्षा मन्त्रालयमा छलफल भइरहेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले घरमा बसेका बालबालिकालाई कसरी पढाउन सकिन्छ भन्नेमा छलफल भइरहेको बताए ।

महानिर्देशक थपलियाले १५ वैशाखसम्म पनि असहज स्थिति भए मिडियामार्फत कक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए । अनलाइन, रेडियो, टेलिभिजन र केबल टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्ने उनको भनाइ छ ।

कोरोना भाइरसको जोखिम बढेपछि अहिले कक्षा १० सम्मका ७० लाख बालबालिका घरमै होम क्वारेन्टाइनमा छन् । कक्षा ९ सम्मका बालिकालिकाले वार्षिक परीक्षा सकेका छन् भने माध्यमिक शिक्षा परीक्षा (कक्षा १०, एसइई) स्थगित भएको छ ।

कक्षा नौसम्मको वार्षिक परीक्षा अघि सारेर सञ्चालन भएको थियो । त्यसको नतिजा भने सार्वजनिक भएको छैन । सरकारको निर्णयअनुसार चैत मसान्तसम्मका लागि पठनपाठन बन्द गरिए पनि त्यसपछि के हुन्छ भन्नेसमेत अन्योल छ ।

महानिर्देशक थपलियाले विगतमा पनि यतिवेला विद्यार्थी वार्षिक परीक्षा दिएर बस्ने समय भएको र अहिलेको कठिन परिस्थिति लम्बिने अवस्था आएमा विकल्प निर्माण भइरहेको बताए ।

विगतमा १५ वैशाखसम्म भर्ना अभियान सञ्चालन हुने गरेको र त्यसपछि मात्र पढाइ सुरु हुने भएकाले यो वर्ष पनि कठिन परिस्थिति कायम रहे १५ वैशाखपछि बालबालिका खाली बस्न नदिन विकल्प तयार गर्न लागिएको बताए ।

लकडाउनका कारण बैठक बस्न नसके पनि स्काइपमार्फत छलफल भइरहेको तर निर्णयमा पुग्न बाँकी रहेको उनको भनाइ छ । परीक्षा स्थगित भएको एसइईका विद्यार्थीका लागि अहिले पनि केन्द्रले टेलिभिजनमार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ ।

केन्द्रसँग विभिन्न मिडियामार्फत कक्षा सञ्चालनका लागि माथिल्लो कक्षाका सामग्री रहे पनि तल्लो तहका अडियो, भिजुअल सामग्री छैनन् । कक्षा नौ र १० का धेरै पाठलाई समेटिने गरी सामग्री तयारी अवस्थामा छन् । ९ र १० कक्षाको नौ सय ५० लेसन शिक्षा मन्त्रालयमातहतका निकायमा छन् । कक्षा ६ देखि ८ सम्मको केही सामग्री तयारी अवस्थामा छन् । तर, कक्षा १ देखि ५ सम्मको सामग्री मन्त्रालयमातहतका निकायसँग छैन ।

कक्षा पाँचसम्म संगीतसहितको सामग्री

मन्त्रालयका उच्च तहका अधिकारीहरूले सिकाइका लागि वैकल्पिक माध्यम प्रयोग गर्ने अवधारणा तय गरेका छन् । उनीहरूले शैक्षिक सत्र सुरु हुँदा पनि कठिन परिस्थिति कायम रहे तीन विकल्पमा काम गरिरहेको महानिर्देशक थपलियाले बताए ।

अहिले शिक्षा मन्त्रालयसँग भएका सामग्रीलाई विभिन्न माध्यममार्फत प्रसारण गर्ने, आफैँले उत्पादन गर्न नसकेका कक्षाका सामग्री निजी कम्पनीले उत्पादन गरेका गुणस्तरीय सामग्री प्रयोग गर्ने, अडियो-भिजुअल सामग्री केबल टेलिभिजनलाई दिएर उनीहरूमार्फत प्रसारण गराउने विकल्पमाथि छलफल भएको छ ।

थपलियाले अब कक्षा १ देखि ५ सम्मको सामग्री तयार गर्दा संगीतसहित हुने पनि बताए । बालबालिकाले मनोरञ्जनसहित सिकून् भनेर संगीतसहितको मेटेरियल तयार गर्ने विषयमा छलफल भएको उनले बताए भन्दै नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Apr 3, 2020

प्रतिक्रिया दिनुहोस्