Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं जिल्ला प्रशासनद्वारा पास वितरण बन्द, अत्यावश्‍यक सेवालाई पास नचाहिने

बाग्मति प्रदेश स्थित काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट सवारीसाधनलाई पास वितरण नगर्ने भएको छ।
सवारी पासको लागि कार्यालयमा अत्यधिक भिड बढेकोले सवारी साधनको पास वितरण बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि लकडाउन अवधिभर अत्यावश्यक कार्यका लागि सवारीसाधनहरूलाई पास वितरण गर्दै आएको थियो।

बढी भिडभाडबाट कोरोना संक्रमणको जोखिम बढ्नुका साथै पासको दुरुपयोग समेत गरिएकोले बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

उनका अनुसार अत्यावश्यक सेवा तथा सामग्रीहरुको सहज आवागमन तथा पासको दुरुपयोग रोक्नको लागि नयाँ व्यवस्था गरेको छ।तर,यस्ता सवारीहरुमा यात्रु ओसार्न भने पाइने छैन।

जसमा खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, पानी, तेल, पशुपक्षीजन्य आहार, इन्धन, सरसफाइका वस्तुहरुको ओसारपसार गर्ने भ्यान, पिकअप, ट्याङ्करका साथै फोहोर बोक्ने सवारीहरुले पनि निर्वाधरुपमा चल्न पाउने भएका छन्।

एम्बुलेन्सहरु, औषधि तथा औषधिजन्य वस्तु बोकेका सवारी तथा डाक्टर, नर्स तथा कर्मचारीहरुलाई बोकेका सवारीले पास लिनु नपर्ने व्यवस्था गरेको छ। तर, सबैले आफ्नो परिचयपत्र बोक्नुपर्नेछ।

व्यक्तिगत समस्या, परिवार, वा आमा बिरामी ,भेटघाट, काम विशेष जस्ता विषयलाई लिएर सवारी पास नपाउने उनले बताए। तत्काल पर्ने आकस्मिक मानवीय अवस्था, गम्भीर बिरामी अस्पताल जानुपर्ने अवस्था जस्ता परिस्थितिमा नजिकको सुरक्षा इकाइसँग आवश्यक समन्वय गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: Apr 2, 2020

प्रतिक्रिया दिनुहोस्