Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना नभएको विरामीलाई पनि कोरोना संक्रमित भनेर उपचार नगर्दा बिरामीको ज्यान गयो

प्रदेश २ स्थित पर्साको वीरगन्जमा रहेको नेश्नल मेडिकल कलेजमाथि बाराको एक जना २५ वर्षीय युवाको अनाहकै ज्यान लिएको गम्भिर आरोप लागेको छ ।

उक्त मेडिकल कलेजका सञ्चालक बसुरुद्दिन अन्सारी हुन । उनलाई चिकित्सा शिक्षा आयोगको सदस्यमा नियुक्त समेत गरिएको थियो । तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै अन्सारीको कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरिरहेका बेला आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनैलाई आयोगको सदस्यमा नियुक्त गरेका थिए ।

बारा जिल्ला कलैया उपमहानगरपालिका वडा २२ का विजय कुशवहाको ज्यान उक्त अस्पतालको कारण भएको बाराबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य तथा समाजवादी पार्टीका नेता रामबाबु यादवले जानकारी दिए ।

यादवकाअनुसार थ्रेसर मेशिनमा चैत्र १४ गते शुक्रबार उनको खुट्टा परेको थियो र त्यसको भोलिपल्ट चैत्र १५ गते शनिबार नेश्नल मेडिकल कलेज वीरगन्ज लगिएको थियो ।

सांसद यादवले भने,”अहिले तराईमा गहुँ भित्र्याउने बेला छ, त्यही गहुँ भित्र्याउने बेलामा थ्रेसरमा परेर विजयको खुट्टामा गम्भिर चोट लाग्यो । सुरुमा गाउँकै स्वास्थ्य चौकीमा उपचार गरियो । त्यहाँ उनलाई ३३ वटा टाँका हालियो ।

टाँका लगाएको मानिसमा ज्वरो आउनु त सामान्य हो । घाउ पाकेपछि उनलाई शनिबार राति नेश्नल मेडिकल कलेज वीरगन्ज लगेर भर्ना गरियो । रातभरिमै उनको ज्वरो पनि नियन्त्रण भयो । तर, दिउँसो अस्पतालले एक्कासी यो मान्छेलाई कोरोना लागेको छ, यसलाई यहाँबाट लैजानुहोस भनियो । त्यो पनि विरामीको अगाडि नै यस्तो कुरा गरियो ।”

अस्पतालले विरामीलाई कोरोना लागेको छ भनेर जबरजस्ती नै निकालेको सांसद यादवको आरोप छ । विरामी निकालेपछि आफूले बाराको सिडियो र प्रहरी प्रमुखलाई फोन गरेर घट्नाबारे जानकारी गराएको पनि उनले सुनाए ।

तर, प्रहरीपनि अस्पतालसँग मिलेको उनको गम्भिर आरोप छ । उनले भने,”प्रहरी प्रमुखले नारायणी उपक्षेत्रीय अस्पताल लाने भन्नुभयो । तर, नेश्नल मेडिकल कलेजले यो विरामीको कोरोना पोजिटिभ छ भनेर सबै अस्पतालमा अफवाह फैलाएछ । हामी विरामी बोकेर वीरगन्जमा रहेको वयोधा अस्पतालसमेत पुग्यौं । तर, त्यहाँपनि नेश्नलले कोरोना लागेको छ भनेर मेसेज पुर्याएछ ।”

सांसद यादवका अनुसार विरामीलाई उपचारको लागि काठमाडौं ल्याउने क्रममा यही चैत्र १७ गते सोमबार राति बाटोमै निधन भएको हो । उनले भने, “विरामीको १७ गते राति नै बाटोमा मृत्यु भयो । कोरोनाको परीक्षणको सोमबार गरियो ।

मंगलबार नतिजा आयो । जनस्वास्थ्य प्रयोगशालामा गरिएको टेष्टको नजिता नेगेटिभ आयो । मंगलबार हामीले शव घर लग्यौं । र, दाहसंस्कार गरियो ।”

नेश्नल मेडिकल कलेजले खाली जनता मार्ने काममात्रै गरेको उनको आरोप छ । उनले भने,”यो कलेजको काम भनेको पैसा मात्रै असुल्ने देखियो । सामान्य मानिसलाई पनि थाहा भएको कुरा हो कि कोरोनाको लक्षण भनेको १०४ ज्वरो आउनु हो, जबकी उसलाई १०० थियो ज्वरो ।

त्यसमा पनि विरामीले नियमित अन्न खाईरहेको थियो । अस्पतालले कोरोना भाइरस हो भनेर विरामीकै अगाडि हो भनिदियो । मलाई लाग्छ, त्यो सुनेर उसलाई हार्ट अट्याक भएको हुनुपर्छ ।”

सांसद यादवले आफूहरु उक्त नेश्नल मेडिकल कलेजलाई कारबाही गर्नुपर्छ भनेर जुटिसेको र त्यसको लागि आफूहरु अहिले कानूनी परामर्शमा रहेको सुनाए । रिपोर्टर्स नेपाल डटकमसँग उनले भने,”हामी मुद्दा हाल्छौं ।

सरकारले साँच्चै समाजवादी लक्ष्य हाँसिल गर्ने हो र आर्थिक समृद्धि कायम गर्ने हो भने यस्ता अस्पताललाई तुरुन्तै कारबाही गर्नुपर्छ । म त भन्छु सेना वा प्रहरी लगाएर यस्ता अस्पताल कब्जामा लिनुपर्छ ।”

सस्तो लोकप्रियता हाँसिल गर्ने नाममा नेश्नल मेडिकल कलेजलले कोरोना भाइरसको उपचारको लागि अस्पताल नै दिन्छु भनेको उल्लेख गर्दै सांसद यादवले भने,”यो सबै चर्चाको लागि भनिएको कुरा हो । तर, बास्तविकता त्यस्तो छैन् । कोरोना नै नभएको विरामीलाई कोरोना भनेर मार्ने काम गरिरहेको छ । यो त ठूलो अपराध हो ।”

८ दिनअघि पनि एक जना महिलालाई उपचारको लागि अस्पतालमाप प्रवेश नै नदिई मारिएको उनले सुनाए । उनले भने,”ती महिलालाई ज्वरो आएको थियो अरे ।

तर, कोरोनाको आंशकामा उनलाई अस्पतालमा प्रवेश नै दिईएन । र, उनको निधन भयो । अहिलेपनि यो अस्पतालले कोही पनि ज्वरो आएको विरामीलाई उपचार नै गर्दैन् । यसलाई कारबाही गर्नतर्फ राज्यको ध्यान जाओस् ।”

प्रकाशित मिति: Apr 2, 2020

प्रतिक्रिया दिनुहोस्