Logo
१३ बैशाख २०८१, बिहीबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेलले बुझायो ४ अर्ब ६० करोड रुपैयाँ पुँजीगत लाभकर

टेलियासोनेराबाट एक्जिएटमा आफ्नो शेयर बिक्रि हुँदा लाग्ने लाभकरमध्ये एनसेलले मंगलबार ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ। एनसेलले मंगलबार पुँजीगत लाभकरको दोस्रो किस्ता बुझाएको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिए।

‘करदाताबाट आज (मंगलबार) रकम प्राप्त भएको छ,’ अधिकारीले नेपाल लाइभसँग भने। लक डाउन भए पनि अधिकारी मंगलबार कार्यालय गएका थिए।

एनसेलले अब सरकारलाई १४ अर्ब ४० करोड रुपैयाँ कर बुझाउन बाँकी छ। ‘यो रकम पनि हामीलाई १५ दिनभित्र बुझाउछौँ भन्नुभएको छ,’ अधिकारीले भने।

सरकारले कोरोना भाइरसको जोखिम बढेको भन्दै लक डाउन घोषणा गरेको छ। अधिकारीले यस्तो अवस्थामा पनि करदाताको सहयोगमा कर संकलन पुर्‍याउनु बताएका छन्। ‘अहिलेको अवस्था हामी सबैलाई थाहै छ, यस्तो बेलामा पनि सरकारलाई करदाताको राम्रो सहयोग प्राप्त भइरहेको छ,’ उनले भने।

एनसेलको पुँजीगत लाभकरका विषयमा परेको मुद्दामा भदौ ९ गते फैसला गर्दै सर्वोच्च अदालतले २१ अर्ब १० करोड रुपैयाँ कर लाग्ने ठहर गरेको थियो। यसअनुसार ब्याजको हिसाब गर्दै ठूला करदाता कार्यालयले एनसेलमाथि २२ अर्ब ४४ करोड रुपैयाँ कर लाग्ने भन्दै पत्र पठाएको थियो।

कर कार्यालयको पत्र पाएपछि एनसेलले गत पुस १५ गते ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको थियो। पहिलो किस्ता बुझाएपछि एनसेलले मंगलबार किस्ताबन्दी सुविधा माग गरेको थियो। त्यसैअनुसार एनसेलले मंगलबार दोस्रो किस्ता तिरेको हो। एनसेलले दुईपटक गरी ९ अर्ब १० करोड रुपैयाँ कर बुझाएको छ।

संसदको सार्वजनिक लेखा समितिमा अर्थसचिव शिशिरकुमार ढुंगानाले केही अघि एनसेलबाट चालु आर्थिक वर्षभित्रै पुँजीगत लाभकर संकलन हुने बताएका थिए।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्