Logo
१३ बैशाख २०८१, बिहीबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मीमा ३७ जनालाई क्वारेन्टाइनमा राखियो, ३०८ श्ययाको आइसोलेसन कक्ष निर्माण

प्रदेश नं ५ स्थित गुल्मीमा देशका विभिन्न स्थान तथा भारतबाट आएका ३१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

जिल्लाका विभिन्न तीन स्थानीय तहमा भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । जसमध्ये धुर्कोट र मालिका गाउँपालिकाका १०/१० जना तथा इश्मा गाउँपालिकाका ११ जना रहेका छन् ।

धुर्कोट गाउँपालिका–५ वस्तुस्थित परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा चार दिनदेखि ५ जना क्वारेन्टाइनमा राखिएका छन् । जसमध्ये वाग्लाका १ जना २० वर्षीया युवा रहेका छन् भने बाँकी ४ जनामध्ये श्रीमान्–श्रीमती, एक छोरा र एक छोरी छन् ।

उनीहरु भारतबाट आएका हुन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेस्थित न्यूखर्क माविमा ३ दिनदेखि ५ युवा क्वारेन्टाइनमा छन् । भैरहवाबाट आएका युवा सबै १८ देखि २२ वर्षभित्रका छन् ।

वस्तुमा डिल्ली पराजुली र हाडहाडेमा हेल्थ असिस्टेन्ट प्रकाश काउछाले क्वारेन्टाइनमा राखिएकाहरुको रेखदेख गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए ।

मालिका गाउँपालिका वडा नं ६ अर्जैमा चारदिनदेखि १० जना क्वारेन्टाइनमा राखिएको छ । राखिएका सबै पुरुष छन् । उनीहरु १६ देखि ३२ वर्षसम्मका रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले जानकारी दिए ।

उनीहरु भारतबाट आएका हुन् । इस्मा गाउँपालिका–६ अम्मरपुरस्थित सरस्वती निम्न माध्यमिक विद्यालयमा ११ जना क्वारेन्टाइनमा छन् । राखिएका सबै पुरुष छन् ।

उनीहरु सबै अम्मरपुरकै भएको र २० वर्षभन्दा माथिका रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक पदम अधिकारीले जानकारी दिए । मुसिकोट नगरपालिकामा पनि ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा राखिएकाको खाना, आवासलगायत आधारभूत आवश्यकताको परिपूति सम्बन्धित स्थानीय तहले व्यवस्था गरेका छन् । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइन कक्षमा राखिनेछ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गुल्मी जिल्लाका ११ स्थानीय तहमा ३०८ वेडको आइसोलेशन कक्ष बनाइएको छ । गुल्मीमा १२ मध्ये गुल्मी दरबार गाउँपालिकाबाहेक सबै स्थानीय तहले आइसोलेसन कक्ष स्थापना गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।

रुरुक्षेत्र गाउँपालिकामा २५, छत्रकोट गाउँपालिकामा ५, रेसुङ्गा नगरपालिकामा १६, सत्यवती गाउँपालिकामा ८, कालीगण्डकी गाउँपालिकामा १०६, चन्द्रकोट गाउँपालिकामा १६, मुसीकोट नगरपालिकामा ७६, इस्मा गाउँपालिकामा १८, धुर्कोट गाउँपालिकामा १०, मालिका गाउँपालिकामा २४ र मदाने गाउँपालिकामा ११ श्ययाको आइसोलेसन वार्ड स्थापना गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्