Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना कहर : चन्द्रागिरि नगरपालिकाले विद्यार्थी र मजदूरलाई घर पुर्‍याइदिने

बाग्मती प्रदेश स्थित काडमाण्डौको चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदूरलाई घर नजिकको राजमार्गसम्म पुर्‍याउने व्यवस्था मिलाउने भएको छ ।
विश्वव्यापीरुपमा फैलँदै गएका कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले चैत २५ गतेसम्म ‘लकडाउन’ गरेपछि अलपत्र विद्यार्थी तथा मजदूरलाई घर जाने व्यवस्था मिलाउन लागेको हो ।

चन्द्रागिरिका प्रवक्ता, हरिभक्त महर्जनले चन्द्रागिरि नगरपालिकाभित्र कोठामा बसेर दैनिक ज्यालादारी गर्ने मजदूर तथा विद्यार्थीलाई घर नजिकको गन्तव्यस्थल राजमार्गसम्म पुर्‍याउने निर्णय गरिएको जानकारी दिएका छन् ।

“लकडाउनको समयमा कोठामा बस्न समस्या भएका विद्यार्थी र मजदूरका लागि घर नजिकको राजमार्गसम्म लैजानका लागि गाडीको व्यवस्था नगरपालिकाले मिलाउँछ”, उनले भने ।

चन्द्रागिरिले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको राजमार्गसम्म पुर्‍याउने व्यवस्था गर्न लागेको उनको भनाइ छ ।

चन्द्रागिरिले घर जान मन गरेका विद्यार्थी तथा मजदूरलाई वडामा नामथर, हाल बसोबास गरेको ठेगाना, कार्यरत रहेको संस्था वा कार्यलयको नाम, बाहिर जान लागेको गन्तव्यस्थलको ठेगाना र सम्पर्क नम्बर टिपाउन अनुरोध समेत गरेको छ ।

चन्द्रागिरिले नगरपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ध्यानमा राखेर व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरेको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोरोना रोगको सम्भावित सङ्क्रमणबाट जोगिनका लागि चन्द्रागिरिभित्र रहेका स्वास्थ्य सङ्घ संस्थालाई पिपिई हस्तान्तरण गरिएको जानकारी दिए ।

“सबै स्वास्थ्यकर्मीलाई पुग्ने गरी पिपिई नभएकाले शुरुको अवस्थामा सबै स्वास्थ्य संस्थालाई पुग्ने गरी पिपिई वितरण गरेका छौँ, बाँकी विस्तारै थप्दै जान्छौँ”, नगरप्रमुख गिरीले भनेका छन् ।

काठमाडौँ प्रवेशको मुख्यद्वारका रुपमा रहेको चन्द्रागिरिले नागढुङ्गा–कलङ्की सडकखण्ड र भित्री सडकखण्डमा किटनाशक औषधिसमेत छरेको छ ।

चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक र नगरपालिकाका भित्री सडकमा ‘हाइड्रो क्लोराइड’ नामक किटनाशक औषधि छरेको हो ।

कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्म र नगरपालिकाका भित्री सडकमा किटनाशक औषधि छर्किएको नगरपालिकाले जनाएको छ ।

चन्द्रागिरिले सरकारले चैत ११ देखि २५ गतेसम्म ‘लकडाउन’ गरेकाले लकडाउनको समयमा नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै नगरपालिकाभित्र माइकिङ गरेको छ । यस्तै चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनको कार्यलाई समेत अगाडि बढाएको छ ।

यसैगरी चन्द्रागिरि वाणिज्य सङ्घ चन्द्रागिरि चेम्बरले प्रत्येक वडामा मास्क वितरण गरेको छ । बजारमा मास्कको अभाव भइरहेका बेला चन्द्रागिरि चेम्बरले चन्द्रागिरि नगरपालिकामा ३ हजार थान मास्क वितरण गरेको हो ।

चेम्बर चन्द्रागिरिका अध्यक्ष रामनारायण घिमिरेले विपन्न जनतासम्म मास्क पुर्‍याउने उद्देश्यले वडाध्यक्ष मार्फत मास्क वितरण गरेको जानकारी दिए ।

चेम्बरले चन्द्रागिरिमा खाद्यान्न, ग्यास, औषधिलगायतका अत्यावश्यक सामग्री अभाव भए सहजीकरण गर्ने समेत जनाएको छ । चन्द्रागिरिमा हाल १३ स्वास्थ्यचौकी र २ अस्पताल सञ्चालनमा रहेका छन् ।

नगरपालिकाले सबै स्वास्थ्य संस्थामा ५० थानका दरले मास्क समेत वितरण गरेको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाका रुपमा रहेको चन्द्रागिरिमा १५ वडा रहेका छन् ।

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्