Logo
१२ बैशाख २०८१, बुधबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि बागलुङ नगरपालिकाले विपन्नलाई खाना खुवाउँदै

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण गण्डकी प्रदेश स्थित बागलुङ जिल्ला सदरमुकाममा बसोबास गर्ने विपन्न तथा मजदूरहरुलाई आजदेखि दिवा खाना खुवाउन शुरु गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सरकारले मङ्गलबारदेखि लकडाउन गर्दा रोजीरोटी गुमेका विपन्न परिवारलाई दिवा खाना खुवाउन थालिएको नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा बानपा–४ कुडुँले स्थित शालिग्राम सङ्ग्रहालय तथा तिरुपति बालाजीधाम मुक्तिनाथ वेद विद्याश्रमको संयोजनमा धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा खाना खुवाउन थालिएको हो ।

जिल्ला सदरमुकाममा बसेर ज्याला मजदूरी गर्ने श्रमिक, गरिब, विपन्नका लागि सञ्चालन गरिएको मेसबाट पहिलो दिन ६८ जनालाई खुवाइएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिएका छन् ।

नगरपालिकाका अनुसार बजारमा सञ्चालित मानव सेवा आश्रमका ४० जना, अन्य इट्टा तथा उद्योगमा कार्यरत मजदूरलाई समेत खाना पठाइएको छ ।

मेस सञ्चालनका लागि नगरपालिकाले खाद्य सामग्रीको जोहो गरिदिएको छ भने मुक्तिनाथ वेद विद्याश्रमले खाना तयार गरेर वितरणको प्रवन्ध मिलाएको छ । भीडभाड नगरी खाना खुवाउने व्यवस्था गरिएको छ ।

मुलुकभरी भएको लकडाउनका कारण रोजीरोटी गुमेर विहानबेलुका हातमुख जोर्न समस्या भएकालाई दिवा खाना खुवाइएको नगरप्रमुख पौडेलको भनाइ छ ।

नगरपालिकाले लकडाउनका कारण मजदूरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई राहत उपलव्ध गराउनका लागि वडास्तरबाट लगत सङ्कलनको काम समेत अघि बढाएको छ ।

नगरपालिकाले कोरोना भाइरसको रोकथामका लागि १५ लाखको राहत कोषसहित नगर क्षेत्रमा कोरोना रोकथामका लागि किटनाशक औषधि छर्ने कार्य समेत गरिरहेको छ ।

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्