Logo
१५ चैत्र २०८०, बिहीबार
(March 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि रुपन्देहीको सैनामैनामा अस्थायी अस्पताल शुभारम्भ

प्रदेश नं ५ स्थित रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना भाइरसविरुद्ध आजदेखि शुरु भएको अस्थायी अस्पतालको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले शुभारम्भ गरेका छन् ।

वडा नं १ स्थित पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष अस्थायी अस्पताल बनाउने निर्णय २ दिनअघि भएको थियो ।

अस्पतालमा एक चिकित्सकसहित, एक हेल्थ असिटेण्ट र दुई नर्स रहनेछन् । “कतिपय गम्भीर बिरामीलाई आवश्यकतानुसार बुटवल वा काठमाडौँ सिफारिस गरिने छ”, उनले भने ।

बिरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्श लिइने समेत उल्लेख गर्दै नगरप्रमुख कार्कीले एक जना बिरामीलाई अलग–अलग राख्ने गरी अस्पतालमा ३० श्यया रहने बताए ।

विपद् व्यवस्थापनसँग सम्बन्धित रहेको २० लाखमध्ये ५ लाखका विभिन्न साम्रगी खरिद भएको जानकारी दिँदै कतिपय रकमलाई रकमान्तर गरेर भए पनि यसलाई प्रभावकारी बनाइने बताए ।

सैनामैनाका उद्योग वाणिज्य सङ्घ, व्यापार सङ्घ, नेपाल रेडक्रस सोसाइटी, रोटरी कलब अफ सैनामैना, लायन्स क्लब अफ सैनामैना, होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घ, नेपाल जेसिसलगायतका विभिन्न सङ्घसंस्थाले सहकार्य गर्ने बताइएको छ ।

रोटरी क्लब अफ सैनामैनाले कोरोनाविरुद्धको सहकार्यका लागि एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । हेल्थपोष्टमा रहेको एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

नगरप्रमुख कार्कीले सैनामैनामा रहेका निजी मेडिकल तथा क्लिनिक बन्द गर्न नहुनेमा जोड दिँदै अहिलेको सङ्कटको घडीमा सबैको साथ र सर्मथन आवश्यक भएको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद् व्यवस्थापन कोषबाट नै कोरोना भाइरसविरुद्ध काम गरिने जानकारी दिए ।

सामुदायिक पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालय केही महिना अघि मात्रै सञ्चालनमा आएको थियो ।

लगत सङ्कलन हुँदै

कोरोना भाइरसविरुद्ध रुपन्देहीको सैनामैना नगरपालिकाको विभिन्न वडामा टोल संस्थामार्फत लगत सङ्कलन कार्य भइरहेको छ ।

सैनामैना नगरपालिकाको आग्रहमा वैदेशिक रोजगारीमा गएर फर्किएकामा कोरोना भाइरसको सङ्क्रमण भएको वा नभएको पहिचान गर्न लगत सङकलन कार्य भइरहेको वडा नं ४ का वडाध्यक्ष धनबहादुर कार्कीले जानकारी दिए ।

वडा नं ४ मा अहिलेसम्म ६ जनाको लगत सङ्कलन भएको र उनीहरुको नियमित जाँच भइरहेको बताइएको छ । त्यस्तै वडा नं ६ मा पनि करिब ४५ जना विदेशबाट आएकाको लगत सङ्कलन भएको छ ।

उनीहरुलाई निगरानीमा राखेर ज्वरो आउँदा जाँच गर्न पठाउने व्यवस्था मिलाइएको वडाध्यक्ष वसन्त पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: Mar 27, 2020

प्रतिक्रिया दिनुहोस्