Logo
६ बैशाख २०८१, बिहीबार
(March 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनका कारण सुदूरपश्चिमबाट रगत नमूना पठाउन समस्या

कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि सुदूरपश्चिम प्रदेशबाट आशङ्का गरिएका बिरामीको रगत नमूना परीक्षणका लागि काठमाण्डौ पठाउन समस्या भएको छ ।

सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले हालसम्म परीक्षणका लागि काठमाडौँ १४ रगत नमूना पठाइसकेको जानकारी दिएको छ ।

“लकडाउनअघि पठाएकामध्ये ९ वटाको रिपोर्ट नेगेटिभ आइसकेको छ”, प्रयोगशालाका ल्याव टेक्निसियन तथा कोभिड–१९ का फोकलपर्सन रामप्रसाद ओझाले भने, “अहिलेसम्म कञ्चनपुरबाट पठाइएको एउटा नमूना प्रदेश प्रयोगशालामा छ ।

” कोराना भाइरसकै लक्षणसित मिल्दोजुल्दो लक्षण देखिएपछि कैलालीबाट ७, बाजुराबाट ४ र कञ्चनपुरबाट ३ वटा रगत नमूना प्रदेशमा पठाइएको उनले जानकारी दिए ।

“कञ्चनपुरबाट पठाइएकामध्ये शनिबार पठाएको दुई नमूनाको रिपोर्ट पनि काठमाडौँबाट आउन बाँकी छ”, ओझाले भने, “होल्डमा रहेको नमूना पनि आज एम्बुलेन्स वा कसरी पठाउने भन्ने विषयमा गृहकार्य हुँदैछ ।

” उनले कैलाली र बाजुराबाट पठाएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।“जिल्ला अस्पतालबाट आउने रगत नमूना हामीले केन्द्रमा पठाउने हो”, उनले भने, “लकडाउनले जहाज र यातायात नचल्दा केही समस्या भने भएको भए पनि निराकरणको प्रयास हँदैछ ।

” कोराना भाइरस सङ्क्रमण भएको थाहा पाउने राष्ट्रिय प्रयोगशाला टेकुमा मात्रै छ ।काठमाडौँ बाहिर सो स्तरको सुविधा भएको प्रयोगशाला नहुँदा मुलुकभरबाट काठमाडौँ नै रगत नमूना पठाइँदैछ ।

रगत नमूनाको रिपोर्ट नआउँदा भीमदत्तनगरस्थित महाकाली अस्पतालमा तीन पुरुष बिरामीलाई आइसोलेसन कक्षमा राखिएको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पिपीई वितरण गरेको छ ।

प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोशाक अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपीई) उपलब्ध गराइएको हो ।

मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई चार थान पिपीई उपलब्ध गराएको थियो ।

भीमदत्तनगरस्थित महाकाली अस्पतालका मेडिकल स्टोर किपर तिलकराज ओझाले अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपीई र मास्क अभाव नरहेको बताए ।

अस्पतालमा ६ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ भने यहाँको सीएम छात्रावासमा १०० श्ययाको क्वारेन्टाइन नेपाली सेनाले निर्माण गरेको छ ।

प्रकाशित मिति: Mar 25, 2020

प्रतिक्रिया दिनुहोस्