Logo
७ बैशाख २०८१, शुक्रबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी कर्मचारीले छुट्टी नपाउने, नियमित काममा आउनुपर्ने, स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता

संघीय सरकारको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीहरुले विदा नलिई नियमित काम गर्नुपर्ने स्पष्ट पारेको छ ।

कोरोनाको जोखिम बढ्दै गइरहेका बेला सरकारी कर्मचारीहरुले बिदा पाउने कि नपाउने भन्ने अन्योल कर्मचारीहरुमा बढेको थियो ।

मन्त्रिपरिषदका निर्णयहरुको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि एवं अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी कर्मचारीहरु नियमित काममा खटिने बताए ।

मन्त्री खतिवडाले भने, केही अन्यौल थिए, तर सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने स्पष्ट पारिएको छ ।

यसैवीच सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले चिकित्सकहरुको मनोबल बढाउन भन्दै ५० देखि शतप्रतिशत भत्ता दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडाले कोरोना संक्रमितको उपचारका लागि बलम्बुमा रहेको शसस्त्रको अस्पताललाई कोरोना उपचारको डेडिकेटेड अस्पतालको रुपमा विकास गर्ने निर्णय भएको जानकारी दिए।

मन्त्रिपरिषद बैठकले कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने सामग्री खरिद र सहयोग लिन अर्थमन्त्रालयमार्फत अन्तरार्ष्ट्रिय समुदायसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ।

सरकारले भारत र चीत दुवैतर्फका सीमा एक हप्ता बन्द गर्ने निर्णय पनि गरेको छ। मन्त्रिपरिषद् बैठकले दुवैतर्फको सीमामा भइरहेको आवत-जावत चैत १६ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको मन्त्री खतिवडाले बताए।

त्यस्तै सरकारले कोरोनाविरुद्ध लड्न ५० करोड रुपैयाँको कोष खडा गर्ने निर्णय गरेको छ। कोषमा मन्त्रीहरुले एक महिनाको तलब सहयोग गर्ने र सार्वजनिक रुपमा पनि रकम संकलनका लागि आह्वान गर्ने भएको छ।

त्यस्तै सरकारले सीमा नाकाबाट संकास्पदलाई अस्पतालसम्म पुर्‍याउन, सुरक्षाकर्मी र चिकित्सकसहितको टोली र एम्बुलेन्स तयारी अवस्थामा राख्ने जानकारी दिएको छ।

खतिवडाले कोरोना संक्रमितलाई राख्न तीनै तहका सरकारले क्वारेन्टाइन बनाउने र त्यसको संयोजन पर्यटनमन्त्री योगेश भट्टराईले गर्ने गरी जिम्मेवारी दिएको जानकारी दिए।

मन्त्रिपरिषदले सरकारी कर्मचारीलाई नियमित रुपमा कार्यालय आउन निर्देशन दिने, उद्योग वाणिज्य आपूर्ति मन्त्रालले बजार अनुगमनलाई नियमित रुपमा अनुगमन गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको देशवासीको नाममा भएको सम्बोधनमा व्यक्त भएका विषयलाई कार्यान्वयन गर्न कार्यतालिका बनाएर काम गर्ने निर्णय गरेको छ।

त्यस्तै सरकारले कोरोना संक्रमण रोक्नका सहयोग गर्ने राजनीतिक दल, सञ्चार माध्यम, सामाजिक संघ संस्थालाई धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गर्ने निर्णयसमेत गरेको प्रवक्ता खतिवडाले जानकारी दिए।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्