Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लमजुङ जिल्लाले गर्यो मुख्य प्रदेशद्वारमा कडाई, स्वास्थ्य परिक्षण नगरी प्रवेशमा रोक

गण्डकी प्रदेश स्थित लमजुङ जिल्लामा कोरोना भाइरस संक्रमण फैलन नदिन मूख्य प्रदेशद्वारमा कडाई गरिएको छ । अब स्वास्थ्य परीक्षण नगरी लमजुङमा कसैलाई प्रवेश नदिइने भएको छ।

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै लमजुङ प्रवेश गर्ने तीनवटा नाकामा हेल्थ डेस्क स्थापना भएको हो।

यसअघि जिल्लास्तरीय विपद्‌ व्यवस्थापन समितिको बैठक बसी सम्बन्धित स्थानीय तहको समन्वयमा कोरोना चेकजाँच गर्न जिल्लाको मुख्य नाकाहरूमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय भए बमोजिम सुन्दरबजारको पाउँदी, मध्यनेपालको दुईपिप्ले र रामबजारमा हेल्थ डेस्क स्थापना गरी सञ्चालन भएको हो।

स्वास्थ्य परीक्षण गरेर मात्र तनहुँसँगको सीमा पाउदीलगायत जिल्लामा प्रवेश गर्ने अन्य दुईवटा नाकाबाट जिल्ला प्रवेश गर्न पाइनेछ। मनाङ जिल्ला जाने बाटो समेत लमजुङमै पर्छ।

जिल्ला प्रवेशसँगै विभिन्न नाकाबाट कोरोना फैलिन सक्ने सम्भावना भएकोले नाका लकु गर्न हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य चेकजाँच शुरू गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले जानकारी दिए।

अहिले बाहिरी जिल्लाबाट प्रवेश गर्ने जो कोहीलाई पनि हेल्थ डेस्कमा स्वास्थ्य परिक्षण गरी जिल्ला प्रवेश गराउन थालिएको छ।  स्वास्थ्यजाँचका क्रममा कोरोना भाइरस सम्बन्धी लक्षण भेटिएमा तत्काल जिल्ला अस्पताल पठाउने गरी चेकजाँचमा कडाई गरिएको सुन्दरबजार स्वास्थ्य शाखाका सिनियर अहेव निर्मल अधिकारीले बताए ।

काठमाडौं, पोखरा, चितवन साथै तराईबाट आउने नाका पाउँदी, तनहुँको दमौलीबाट भित्रने यात्रुका लागि मध्यनेपाल ४ दुईपिप्ले र कास्कीबाट भित्रने यात्रुका लागि मध्यनेपाल नगरपालिका ७, इशानेश्वर रामबजारमा हेल्थ डेस्क राखिएको प्रजिअ खड्काले बताए।

स्वास्थ्य कार्यलय लमजङका प्रमुख अमर दवाडीका अनुसार कोरोना संक्रमण फैलन नदिन जिल्लास्तर, गाउँपालिका र वडास्तरमा समिति गठन गरिएको छ।

समितिले नागरिकमा सचेतना दिने र सुसूचित गराउने काम गरिरहेको छ। उनका अनुसार हरेक कार्यालयमा साबुनपानीले हात धोएर मात्रै प्रवेशको व्यवस्था गरिएको छ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्