Logo
१५ चैत्र २०८०, बिहीबार
(March 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत नाकामा भिड : ठेलमठेल लाइनमा उभ्याएर सीमित साधनस्रोतले चेकजाँच

भारतको सिमा नाकाबाट नेपाल भित्रिनेहरुको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ । कञ्चनपुरको गड्डाचौकीदेखि झापाको काँकडभिट्टासम्मका नाकाबाट दुई देशका नागरिक जोखिम मोल्दै हुल बाँधेर आउजाउ गरिरहेका छन् ।

२५ जनाभन्दा बढी भिड नलाग्न आह्वान गरेको सरकारले त्यसको व्यवस्थापनमा ध्यान दिएको छैन । ठेलमठेल लाइनमा उभ्याएर सीमित साधनस्रोतले उनीहरूको चेकजाँच भइरहेको छ । स्वास्थ्य परीक्षणका नाममा भारतबाट आउनेहरूको सामान्य ज्वरो नापेर नेपाल छिर्न दिइएको छ । कतिपय नाकामा त ज्वरो नाप्ने थर्मोमिटर र स्वास्थ्यकर्मी समेत पर्याप्त छैनन् ।

पश्चिम नेपालसँग सीमा जोडिएको भारत, उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । पारिपट्टि संक्रमण देखिएपछि नेपालतर्फ त्रास बढेको छ । तर, जोखिमलाई नजरअन्दाज गर्दै दुई देशका नाका अझै खुला राखिएका छन्, जहाँबाट दैनिक हजारौँ मानिस निष्फिक्री ओहोरदोहोर गरिरहेका छन् ।

गड्डाचौकी नाका : दैनिक पाँच हजार मान्छे हुल बाँधेर भारतबाट भित्रिँदै छन् । नाकामा ११ स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्क छ । तर, ज्वरो नाप्न दुईवटा मात्रै इन्फारेड थर्मोमिटर छन् । आशंका गरिएका व्यक्तिलाई महाकाली अञ्चल अस्पतालमा रेफर गरिन्छ । तर, त्यहाँ क्वारेन्टाइन र आइसोलेसन वार्ड छैन ।

दिल्लीसँग सबैभन्दा छोटो दूरीको गड्डाचौकी नाकाबाट दैनिक पाँच हजार व्यक्ति भित्रिँदै छन् । यहाँ ११ स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्क छ । तर, ज्वरो नाप्न दुईवटा मात्रै इन्फारेड थर्मोमिटर छन् । संक्रमणको आशंका भएका व्यक्तिलाई महाकाली अञ्चल अस्पतालमा रेफर गरिन्छ ।

तर, त्यहाँ क्वारेन्टाइन र आइसोलेसन वार्ड छैन । ‘दुईवटा डिजिटल थर्मोमिटरले ज्वरो जाँच गर्दै आएका छौँ । सामान्य ज्वरो देखिएकाहरूलाई उपचारपछि पुनः जाँचेर पठाउँछौँ, १०४ डिग्रीभन्दा माथि ज्वरो देखिए महाकाली अस्पतालमा रेफर गर्छौँ,’ हेल्थ डेस्क इन्चार्ज निर्मला जोशीले भनिन् । बिहान ५ बजेदेखि राति ९ बजेसम्म तीन सिफ्ट गरेर नाकामा ज्वरो नाप्ने गरिएको उनले बताइन् ।

गड्डाचौकी नाकाबाट फर्किनेहरू मजदुरीका लागि भारतमा रहेका नेपालीदेखि भारतीयसम्म छन् । भारतमा होटेल, उद्योगलगायत रोजगारीका क्षेत्र बन्द भएपछि घर फर्किने नेपालीको संख्या बढेको हो । महेन्द्रनगरबाट गड्डाचौकी नाका हुँदै दिल्ली, देहरादुन चल्ने नेपाल–भारत मैत्रीबस सेवा भने ३ चैतदेखि बन्द गरिएको छ ।

भारतसँग जोडिएका कञ्चनपुरका अन्य साना नाका झन् अव्यवस्थित छन् । महाकाली र बेलौरी नगरपालिका क्षेत्रका नाकाका हेल्थ डेस्कमा पनि ज्वरो नापेर छाड्ने गरिएको छ । बेलौरीका मेयर पोतिलाल चौधरीले नाकामा आवतजावत नै बन्द गर्न छलफल भइरहेको बताए ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पतालको बिरामी कुरुवा घरमा सात बेडको आइसोलेसन वार्ड बनाउन थाले पनि काम सुस्त छ । हालसम्म कोठामा कुचो लगाउनेबाहेक अरू काम भएको छैन । बेड व्यवस्थित गरिएको छैन भने जनशक्ति पनि छैनन् ।

-त्रिनगर नाका (कैलाली) : भारतबाट किनमेल गरेर फर्किने नेपालीको स्वास्थ्य जाँच नै हुँदैन
-जमुनाहा नाका (बाँके) : पारि भारततिरको बहराइचमा संक्रमित भेटिएका छन्, तर पनि नेपाली नाकामा उच्च सतर्कता छैन । दैनिक हजारौँ ओहोरदोहोर गर्ने नाकामा आठ स्वास्थ्यकर्मीले दुई थर्मोमिटर बोकेर ज्वरो नाप्दै छन् ।

-भैरहवा नाका (रुपन्देही) : सरकारले झारा टारेको भन्दै स्थानीयको पहलमा बेलहिया नाकामा पाँच स्वास्थ्यकर्मी रहेको छुट्टै हेल्थ डेस्क सञ्चालन ।
-रक्सौल नाका (पर्सा) : देशको सबैभन्दा व्यस्त यो नाका अस्तव्यस्त छ । घन्टामै करिब पाँच सय ओहोरदोहोर गर्छन्, तर हेल्थ डेस्कमा दुई अहेब र एक अनमि मात्रै छन् ।
-जोगबनी नाका (मोरङ) : यो नाकाबाट दैनिक १५ हजार मानिस आवतजावत गर्छन् । तर, सीमामा सामान्य स्वास्थ्य जाँच मात्रै हुन्छ ।

त्यस्तै, कैलालीको त्रिनगर नाकामा पनि स्वास्थ्य जाँच फितलो छ । सीमावर्ती भारतीय बजारमा किनमेल गरेर फर्किने नेपालीलाई स्वास्थ्य जाँच नै नगरी आउन दिइन्छ । दैनिक सयौँ नेपाली भारतको बनगावालगायत बजारमा किनमेल गर्न पुग्छन् ।

बाँकेको नेपालगन्जसँग सिमाना जोडिएको भारतको बहराइज जिल्ला सदरमुकाम बहराइचमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पारिपट्टिसम्म कोरोना आइपुग्दा पनि जमुनाहा नाकाको भद्रगोल अवस्था हुँदा नेपालगन्जवासी त्रसित बनेका छन् ।

कामका लागि भारत गएकाहरू जमुनाहाबाट धमाधम भित्रिरहेका छन् । नाकामा हेल्थ डेस्क भए पनि भिडभाड व्यवस्थापन भएको छैन । दुईवटा इन्फ्रारेड थर्मोमिटर बोकेर आठ स्वास्थ्यकर्मी स्वास्थ्य चेकजाँचमा खटिएका छन् । भिडभाडको तुलनामा ज्वरो नाप्ने थर्मोमिटर कम भएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । तर, खरिद गर्न थर्मोमिटर नै नपाएको उनको भनाइ छ ।

रुपन्देहीको बेलहिया भारतसँग जोडिएको देशकै दोस्रो ठूलो नाकामा सरकारी चेकजाँच प्रभावकारी नभएपछि स्थानीयको पहलमा बेग्लै हेल्थ डेस्क स्थापना गरिएको छ । स्थानीय बेलहिया गाउँ समाजले नाकामा पाँच स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क राखेर चेकजाँच सुरु गरेको हो ।

बेलहिया हुँदै दिल्लीसम्म चल्ने अन्तरदेशीय बससमेत अहिले सञ्चालनमै छ । दैनिक हजारौँ व्यक्ति भारतबाट नेपाल भित्रिन्छन् । खुला सीमाका कारण नेपालतर्फ जोखिम र त्रास छ । स्थानीयले आफैँ पहल गर्दा सरकार अझै गम्भीर बनेको छैन ।

प्रदेश ५ सरकारले शुक्रबार मात्रै ६ वटा आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शंकर पोखरेल अध्यक्षतामा बसेको बैठकले रुपन्देही, दाङ र बाँकेमा आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको हो ।

काँकडभिट्टा नाका : यो नाकाबाट दैनिक १२ हजार नेपाली र भारतीय ओहोरदोहोर गर्छन् । यस्तो भिडभाड भएको नाकामा तीनवटा इन्फारेड थर्मोमिटर बोकेका तीन स्वास्थ्यकर्मी मात्रै हेल्थ डेस्कमा खटाइएका छन् । जोखिम न्यूनीकरण होइन, बढाउने ठेलमठेलबीच सामान्य रूपमा ज्वरो नापेर यात्रुहरूलाई छाडिन्छ ।

वीरगन्ज, नेपाल–भारतको प्रमुख नाका झन् अस्तव्यस्त छ । भारतबाट वीरगन्ज नाका हुँदै घन्टामै पाँच सय व्यक्ति भित्रिन्छन् । तर, नाकाको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले ज्वरो नापेर मात्रै पठाइदिने गरेका छन् । डेस्कमा दुई अहेब र एक अनमी छन् ।

काँकडभिट्टा नाकामा दैनिक १२ हजार भित्रिने सुरक्षा जाँच प्रभावकारी हुन सकेको छैन । सयौँलाई एकसाथ ठेलमठेल लाइन लगाएर ज्वरो नाप्ने र छाड्ने गरिएको छ । तर, स्वास्थ्यकर्मीको टोलीले साबुनपानीले हात धुन लगाउने, ज्वरो नाप्ने र स्वस्थ भएको प्रमाणित भएपछि मात्रै प्रवेश गर्न दिने गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले बताए ।

सुनसरीको भन्टावारी, देवानगंज, शिसुवा, अमडुवा लगायतका नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने सर्वसाधारणको स्वास्थ्य जाँच पनि प्रभावकारी हुन सकेको छैन । नाकामा स्वास्थ्य परीक्षण गर्ने एउटा छाप्रो बनाइएको छ ।

एउटा टेबुल र तीनवटा कुर्सी छन् । दुईजना स्वास्थ्यकर्मी र एक प्रहरी जवान खटाइएको छ । ज्वरो नाप्न एउटा थर्मोमिटर राखिएको छ । तर, दैनिक हजारभन्दा बढी मानिस आवतजावत गर्ने नाकामा दुईजनाले चेकजाँच गर्न सम्भव नभएको बताउँछिन् स्वास्थकर्मी यशोधधा घिमिरे ।

प्रकाशित मिति: Mar 21, 2020

प्रतिक्रिया दिनुहोस्