Logo
१२ बैशाख २०८१, बुधबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेल्वे कम्पनीका लागि दक्ष प्राविधिकसहित २२६ कर्मचारी थपिने

नेपाल सरकारले दक्ष प्राविधिकसहित २२६ कर्मचारी धनुषाको कुर्था देखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि थप गर्ने भएको छ ।

उक्त रेल्वे कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून रहेकाले आबश्यकताको आधारमा थप गर्न लागिएको हो । एक जना प्रमुखसहित रेल सञ्चालन र मर्मत लगायतका कामका लागि इञ्जिनीयरिङ क्षेत्रका जनशक्ति आवश्यक परेको छ । साथै प्रशासन, लेखा लगायतका कर्मचारी आवश्यक भएको रेल विभागले जनाएको छ ।

मन्त्रिपरिषद्बाट भने गत महिना नै कर्मचारीका लागि स्वीकृति दिइसकेको महानिर्देशक बलराम मिश्रले बताएका छन् । सञ्चालक समितिले पास गरेपछि विज्ञापनमार्फत कर्मचारी पूर्ति गर्ने तयारी रहेको छ ।

उनले भने, ‘कम्पनीमा अहिले महानिर्देशक नभएकाले हामीले नै पदपूर्तिको प्रक्रिया अघि बढाएका छौँ ।’ रेल सञ्चालनका लागि रेलमार्ग निर्माण सम्पन्न भइसकेको छ भने रेल सेट निर्माण सकिएको विभागले जनाएको छ ।

सरकारले अहिले दुई सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार २०० सम्म यात्रु बोक्ने रहेको छ । भारतबाट हिँडेको रेल सेट झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ ।

सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद प्रक्रिया अघि बढाएको थियो । सो रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने उनले बताए । दुई सेट खरिद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्को आइपुग्ने महानिर्देशक मिश्रले बताए ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्