Logo
४ बैशाख २०८१, मंगलबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेश हमाल पक्राउपछि पीएन क्याम्पसमा तनाव, नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

नेपाल विद्यार्थी संघका नेता राजेश हमाल (रेशम) पक्राउको विरुद्धमा पृथ्वीनारायण क्याम्पस तनावग्रस्त बनेको छ । शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेपछि स्थिती तनावग्रस्त बनेको नेविसंघले आरोप लगाएको छ ।

नेविसंघले सोमबार विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासनमा मंगलबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ भने अहिले विद्यार्थी र प्रहरीबीच ढु्ंगा हानाहान भइरहेको छ ।

लाठीचार्जबाट नेविसंघ विज्ञान संकायका उपसभापति सुजन लामिछाने घाइते भएका छन् । उनलाई उपचारको लागि गण्डकी अस्पताल लगिएको छ ।

यता, कास्की प्रहरी प्रवक्ता राजकुमार केसी भने यसबारेमा अनभिज्ञ रहेको प्रतिक्रिया दिए । ‘उनीहरुले बाटो बन्द गरेका रहेछन्, प्रहरीले खुलाउन खोजेको मात्र हो ।’ उनले भने ।

माघ ८ गते क्याम्पस परिसरभित्रै दुई विद्यार्थी संगठनबिचको झडपलाई लिएर स्ववियु उम्मेदवार समेत रहेका नेविसंघ नेता राजेश हमालसहित ८ जनाविरुद्ध किटानी जाहेरी परेको छ ।

उक्त घटनामा अनेरास्ववियुका दुई विद्यार्थी घाइते भएका थिए भने उपचारपश्चात उनीहरु डिस्चार्ज समेत भइसकेका छन् ।

सोही घटनालाई लिएर अनेरास्ववियुका विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सोमबार हमाललाई पक्रेको थियो ।

उनीविरुद्ध तीन दिन म्याद थप समेत भएको छ । नेता पक्राउको विरुद्धमा नेविसंघ क्याम्पस एकाइ समितिले सोमबार पनि महेन्द्रपुल र क्याम्पस गेट अगाडि टायर बालेर प्रदर्शन गरेको थियो ।

‘क्याम्पस प्रशासनले सांगठनिक झडपलाई राजनीतिक पहुँचका आधारमा फसाउन खोजेको हो, क्याम्पस प्रशासनको मिलेमतोमा क्याम्पस परिसरबाटै नेविसंघका नेता पक्राउ गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँको बिनाशर्त रिहाइको माग गर्दै हामीले चरणबद्ध आन्दोलनको घोषणा गर्दछौँ ।’ इकाई सभापति दिपक शर्मा वाग्लेले भने ।

मंगलबार क्याम्पस गेटमा चक्काजाम र विरोध प्रदर्शन, कास्कीमा चल्ने सरकारी गाडीमा रोक र १५ गतेदेखि कास्कीका शैक्षिक संस्थाहरु अनिश्चितकालीन रुपमा बन्द गर्ने घोषणा नेविसंघले गरेको छ ।

नेपाल विद्यार्थी संघठनका विद्यार्थी नेता रेशम हमाल लगायत क्याम्पस फोर्सका अध्यक्ष सतिश बास्तोला, गौरव बराल, विपिन नेपाली, स्वरुप बन्जाडे, युवराज पौडेल, सौरभ चापागाई, विकास अधिकारी र अकल क्षेत्री विरुद्ध किटानी जाहेरी परेको छ ।

अनेरास्ववियु, क्याम्पस प्रमुख र प्रहरी प्रशासनको मिलेमतोमा आफ्ना नेताकार्यकर्तालाई पक्राउ गरिएको नेविसंघको आरोप लगाएको छ । यता, नेविसंघ केन्द्रिय समिति र नेपाली कांग्रेस केन्द्रीय समितिले पनि विद्यार्थी नेता पक्राउबारे घोर भत्र्सना गर्दै तत्काल रिहाई गर्न माग गरेको छ ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्