Logo
८ बैशाख २०८१, शनिबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरस फैलिएपछि दक्षिण कोरियामा रहेका नेपालीहरु बन्धक बनाइयो

कोरोना भाइरस फैलिएको दक्षिण कोरियामा रहेका नेपाली कामदारहरु अहिले बन्धक जस्तै बनेका छन् । संक्रमण हुने डरले काममा जान दिइएको छैन । नेपालबाट कोरिया जान उडान निश्चित भइसकेकालाई पनि रोकिएको छ ।

चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय दक्षिण कोरियामा समेत फैलन लागेपछि इपिएस मार्फत कोरिया जान लागेका ४० जना नेपालीको उडान तत्काललाई स्थगित गरिएको छ ।

उनीहरू फागुन १८ गते नेपालबाट उड्ने तयारीमा थिए । श्रम विभाग अन्तरगत ईपीएस कोरिया शाखाले कोरोना भाइरसको संक्रमण देखिएपछि केही सामाधान नभएसम्म कोरिया कामदार नपठाउने भएको छ ।

कोरिया सरकारकै समन्वयमा नयाँ कामदारको उडान स्थगित गरिएको शाखाका निर्देशक कृष्ण प्रसाद खनालले बताए । पछिल्लो २४ घण्टामा मात्रै कोरियामा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यहाँ रहेका कुनै पनि नेपालीमा भाइरस संक्रमण नभएकाले डराउनुपर्ने अवस्था नरहेको बताएको छ ।

कोरियामा रहेका नेपाली कामदारहरु मिलेसम्म व्यक्तिगत रुपमा विदा मिलाएर नेपाल फर्किने क्रम भने सुरु भएको छ । काठमाण्डौका उज्जल सिटौलाले कम्पनीसँग धेरै विन्ति गरेपछि भोलिका भोलिदेखि लागु हेन गरी डेड महिनाका लागि विदा दिएको जानकारी दिए ।

भोलि साँझको उडानका लागि टिकट लिइसकेको छु । उनले भने । अरु साथीहरु पनि विदा मिलेसम्म नेपाल फर्किन प्रयासमा रहेको सिटौलाले जानकारी दिए ।

कोरिमामा नै रहेकी सविना कार्कीले पछिल्लो दिनमा काममा जान छोडेर कोठामै बसेको बताइन् । अहिलेसम्म कुनै पनि नेपालीमा संक्रमण नफैलिए पनि त्यहाँ रहेको नेपाली दुतावासले सतर्क रहन सुझाब दिएको कार्कीले बताइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका हेल्थ डेक्सले कोरिया र चीनबाट आउने नेपालीहरुलाई मात्र चेकजाच गरेको छ । अन्य देशबाट आउने नेपालीलाई भने चेक गरिएको छैन ।

कोरियामा अहिले करिब ४४ हजार नेपाली कामदारहरु रहेकाछन् । ती मध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेका हुन् भने बाँकी अन्य प्रक्रियामार्फत कोरिया पुगेका हुन् ।

कमाईको हिसाबले दक्षिण कोरिया आकर्षक गन्तव्यका रुपमा मानिएको भाषा परीक्षा उत्तीर्ण गरेर कृषि र औद्योगिक क्षेत्रमा रोजगारीका लागि लाने गरेको छ ।

खाडी मुलुकमा कम पारिश्रमिकमा धेरै काम गर्नुपर्ने वाध्यता भन्दा कोरियामा श्रम अनुसारको पारिश्रमिक राम्रो हुने भएकाले कोरिया नेपाली कामदारको पहिलो रोजाईमा पर्दै आएको छ ।

कोरिया सरकारले सन् २००७ यता रोजगार अनुमति प्रणालीमार्फत नेपाली युवालाई लैजान थालेको हो ।

भाइरसको संक्रमण दक्षिण कोरिया र इटालीमा पनि

चीनपछि अहिले कोरोना भाइरसको संक्रमण दक्षिण कोरिया र इटालीमा पनि देखिएको छ । कोरोनाका कारण इटालीमा तीन जनाले ज्यान गुमाएका छन् भने दक्षिण कोरियामा ६ जनाले मृत्युवरण गरिसकेका छन् ।

दक्षिण कोरियामा साढे ७ सय भन्दा धेरै जनामा संक्रमण देखिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । दक्षिण कोरिया वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक गन्तव्य मुलुक हो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत र अध्ययनका लागि कोरिया जाने नेपालीको संख्या आधा लाखको हाराहारीमा रहेको छ । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै त्यहाँ रहेका नेपाली चिन्तित बनेका छन् ।

‘कमाउन’ का लागि भन्दै कोरियामा रहेका उनीहरु यतिवेला कोराना संक्रमणको त्रासमा काममा गइरहेका छन् । कोरोना भाइरसको संक्रमणबाट कोही पनि नेपालीलाई असर गरेको समाचारहरु सार्वजनिक भएका छैनन् ।

गत शनिबार कोरोना भाइरसका कारण कोरियाको थेगुमा एकजना कोरियन नागरिकको मृत्यु भएको थियो । मोटर पार्टस् कम्पनीका कार्यरत उनको संक्रमणका कारण मृत्यु भएपछि उक्त कम्पनीका काम गर्ने नेपाली चिन्तित बनेका छन् ।

उक्त मोटर पार्टस् कम्पनीमा १६ जना नेपाली कामदार रहेका छन् । उक्त कम्पनीमा कार्यरत नेपालीले नाम उल्लेख नगर्ने शर्तमा भने, एक जनाको मृत्यु भएको छ ।

उसबाट अरुमा पनि संक्रमण भएको रहेछ भने समस्या हुन्छ । यसले गर्दा साथीहरु चिन्तित छन् । केही कम्पनीहरुमा सयौंको संख्यामा नेपालीहरुले एकैपटक विदाको अनुमति मागेका छन्

कम्पनीहरुमा काम बन्द

थेंगु प्रान्त नजिकैको चोइनान प्रान्तमा रहेका कैलालीका कृष्ण अधिकारीले कोरोना संक्रमण बढेसँगै केही कम्पनीहरुमा काम बन्द भएको बताए ।

आफूहरु कम्पनी भित्रै काममा रहने भएका कारण केही हदसम्म ढुक्क भएपनि बाहिरी मानिसहरुको आवतवाजतमा भने संक्रमणको डर हुने उनले बताए । केही कम्पनीहरुमा सयौंको संख्यामा नेपालीहरुले एकैपटक विदाको अनुमति मागेका आफूले पनि सुनेको उनले बताए ।

स्वदेश फर्कने चाहाना 

कोरियामा संक्रमण फैलदै गएपछि रोजगारी र अध्ययनका लागि पुगेका नेपालीले स्वदेश फर्कने चाहेका छन् । कृष्ण अधिकारी जस्तै कयौं नेपालीले स्वदेश फर्कने चाहेको बताए ।

कोरोना लागेर स्वदेश फर्किनु भन्दा पहिला नै देश फर्कन चाहेको उनले बताए ।  बुसानमा रहेका विनोद सापकोटा भने स्वास्थ्यमा ख्याल गर्न सकियो भने कोरोना संक्रमणबाट बच्न सकिने भएकाले दक्षिण कोरियामा रहेका नेपालीहरुले आफ्नो स्वास्थ्य, बाहिरी मानिससँगको सम्पर्कबाट बच्नु पर्ने बताउँछन् ।

नेपाली राजदूतावासको आग्रह–सुरक्षित रुपमा रहनुस्

कोरियाका लागि नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन नेपालीहरुमा आग्रह गरेको छ । राजदूतावासले एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा कोरियामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना संक्रमणबाट सुरक्षित रहन नेपालीलाई आग्रह गरेको हो ।

नेपाली राजदूतावास सिओलले हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरु देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । थेगु र आसपासका क्षेत्रमा सात हजार नेपाली इपिएसमार्फत काम गरिरहेका छन् । भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ ।

राजदूतावासले कोरोनाको संक्रमण भएको आशंका भएमा स्वास्थ्य संस्थाहरुमा गएर चेक जाँच गर्न नेपालीहरुलाई आह्वान गरेको छ ।
अवैधानिक रुपमा कोरिया बसेकाहरुमा माथि पनि कोरिया सरकारले कोरोना जाँचका क्रममा सोधपुछ र देश फिर्ता नगर्ने विज्ञप्तिमा जनाइएको छ ।

‘कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशीहरु समेत सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गई चेकजाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा विरामीको कानूनी हैसिुयतका बारेमा नसोध्न अस्पतालहरुलाई निर्देशन दिइएको सम्बन्धमा कोयिरयाको अध्यागनमन विभागले गरेको लिखित पत्राचार बारे प्रषित गरिएको थियो ’ विज्ञप्तिमा भनिएको छ ।

फागनु ४ गते सरकारले चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गरेको थियो । कोरोना भाइरसको उद्गम स्थल चीनको हुबेई प्रान्तको वुहानलगायतका क्षेत्रमा रहेको १ सय ७५ जनालाई सरकारले उद्धार गरि भक्तपुरस्थित खरिपाटीमा क्वारेन्टाइनमा राखेको छ ।

दक्षिण कोरियामा पनि कोरोना संक्रमण बढ्दै गयो भने चीनबाट जस्तै नेपालीलाई उद्धार गर्न नेपाल सरकार सक्षम होला ? प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्