Logo
१६ चैत २०७६, आइतबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुर स्थित मिथिलाञ्चलको ऐतिहासिक १५ दिने परिक्रमामा आजदेखि सुरु

प्रदेश २ को राजधानी जनकपुर स्थित मिथिलाञ्चलको ऐतिहासिक महत्त्व बोकेको भनिएको १५ दिने माध्यमिकी परिक्रमा आजदेखि सुरु हुँदैछ।

फागुनको औंशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धार्मिक ऐतिहासिक स्थलहरुको भक्तजनले पैदल यात्रा गर्ने परम्परा छ। यसअन्तर्गत धनुषा र महोत्तरीको ९० किलोमिटर तथा भारत बिहार राज्यको ३० किलोमिटर गरी कुल १२० किलोमिटर यात्रा गर्ने परम्परा छ।

त्रेता युगमा मिथिला बिहारी श्रीराम र किशोरीजी श्रीजानकी जनकपुर बसाइका क्रममा फागु पर्व पूर्व (फागुन शुक्लपक्ष) वनबिहार गर्दै डुलेका सम्झनामा माध्यमिकी परिक्रमाको परम्परा बसेको संस्कृतिविदहरु बताउँछन्।

सदचरण, एकछाकमात्र सात्विक भोजन गरेर खाली खुट्टाले गरिने यो यात्रा संसारिक दुखःबाट मुक्ति दिने र कल्याणदायक हुने जनविश्वास छ।

मिथिला विहारी नगरपालिका–८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी किर्तनसहित रामजानकीको डोला जनकपुरको रत्नसागर मठ हुँदै जानकी मन्दिर ल्याउने परम्परा छ। यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ हुन्छ।

परिक्रममामा सहभागी हुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने आयोजकले जनाएको छ। रामजानकीको डोला उठाउने बेला हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने कार्यक्रम छ। अहिले कचुरीको सुरक्षा अवस्था कडा पारिएको छ।

ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रशासनले जनाएको छ। डोलाको पछिपछि परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा लाखौंनरनारी सहभागी हुने गर्छन्। लावा लस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलको परिक्रमा गर्ने चलन छ।

१५ दिने परिक्रमामा जनकपुरको हनुमानगढीबाट कल्याणेश्वर हुँदै औपचारिक सुरु भएर फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल पुगेर फेरि कल्याणेश्वर हुँदै फागुपूर्णिमाको दिन जनकपुर फर्किन्छ। त्यसपछि नगरको पाँचकोसे अन्तरहगृह परिक्रमापछि विधिवत समापन गरिन्छ।

परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सीतामढी, बैजनाथधामका साधुहरू उल्लेख्य संख्यामा सहभागी हुने गर्छन्। यस्तै नेपालका विभिन्न मठमन्दिरका महन्थ तथा साधुसन्त र सर्वसधारण समेत सहभागी हुने गरेका छन्।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ। यसलाई मिथिलाञ्चल क्षेत्रकै महाकुम्भ भनेर चिनिने गरिन्छ।

प्रकाशित मिति: ११ फाल्गुन २०७६, आईतवार ०८:४८

प्रतिक्रिया दिनुहोस्