Logo
४ बैशाख २०८१, मंगलबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो हो प्रधानमन्त्री ओलीको जन्मघर, जहाँ मनाइँदै छ आज भब्य जन्मदिन

अहिले राजनीतिक अवस्थामा सबै भन्दा शक्तिशाली ब्यक्ति मानिएका प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औं जन्मदिन विशेष हुँदै छ। ओलीले तेह्रथुमको जन्मघरमा जन्मदिन मनाउँदै छन्। साविक इवा गाविस २ खानीगाउँ।

राज्य पुनर्संरचनापछि आठराई गाउँपालिका ४। निर्धाणाधीन मध्यपहाडी राजमार्ग छोडेर उत्तर लागेपछि ४० मिनेट पैदलमा घर पुगिन्छ। राजमार्गछेउको छाते ढुंगाबाट करिब ३० मिनेटको दूरीमा खानीगाउँ छ।

२०४७ मा बेचिएको घरजग्गा किबेच हुँदै तामाङ परिवारमा पुगेको थियो। ओली तेह्रथुम पुगेर तामाङलाई आग्रह गरेपछि ४ वर्षअघि खुसीसाथ बेचेका थिए। ‘स्वास्थ्य पनि त्यति राम्रो छैन, सामाजिक काम गर्न सार्वजनिक सम्पत्तिका रुपमा व्यवस्थापन गर्ने इच्छा छ’ भनेपछि तामाङले घर बेचेका थिए।

गाउँमा हेलिप्याड र एयरपोर्ट
‘पछिल्लो भेटमा जग्गा थपेर प्राविधिक कलेजलगायतका लागि तन्दुरुस्त संरचना बनाएर काम गर्ने इच्छा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ। ओली ट्रस्ट बनाएर काम अघि बढाइएको छ’, पहिला उक्त जग्गा किनेका तुलसी संग्रौलाले भने। उनका अनुसार ३÷४ वटा ट्रस्ट बनाएर जग्गा कम्पनी ऐनमा दर्ता गरेर काम अघि बढाउने क्रममा हालसम्म करिब पाँच सय रोपनी जग्गा प्राप्त भएको छ। बेच्नुअघि २५ रोपनी थियो। उनका बुबा दुई दाजुभाइको नाममा २५ रोपनी थियो। ‘प्रधानमन्त्रीको इच्छा गरिबदुःखीका छोराछोरीले होस्टलमै बसेर पढून् भन्ने हो। कलेज निर्माणमा जापानले रुचि देखाएको छ’, संग्रौलाले भने।

फाईल तस्विर

यी सबै प्रयोजनका लागि काम अघि बढाइरहँदा सहज यात्रा होस् भनेर ओलीको जन्मघर परिसरमा मंसिरमा हेलिप्याड बनाइएको छ। यसका लागि करिब तीन रोपनी जग्गा सम्याइएको छ। तेह्रथुमकै चुहानडाँडामा एयरपोर्ट बनाउने काम अघि बढिसकेको छ।

रवीन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा यही एयरपोर्ट अवलोकन गरेर पाथीभारा माताको दर्शन गरी फर्कदा हेलिकप्टर दुर्घटना भएर सवार सबैले ज्यान गुमाएका थिए। सोही मन्त्रालयको जिम्मेवारी सम्हालेपछि योगेश भट्टराईले काम चाँडो अघि बढाउन पहल गरिसकेका छन्।

ओली जन्मेहुर्केको घर २०७२ को भूकम्पमा चर्किएपछि मर्मत गरी राम्रो बनाइएको छ। दुईतले घरको माथि सिलिङ छ। छानो खरको छ। छेउमा लामो सोतो परेको बाँसको टाटीले बेरेको खरकै छानो भएको ग्वाली (गाईबस्तु बाँध्ने घर) छ।

छेउमा टिनको छानो भएको काठको शौचालय छ। ५० मिटर पर माच (पराल राख्ने) छ। ओलीले यो घरकै आँगनमा जोडेर बनाएको अलि ठूलो यस्तै खालको घर पनि किनेका छन्। दुवै घर र खेतबारीको रेखदेख र संरक्षणका लागि भुसाल थरको चारजनाको परिवारलाई जिम्मा दिइएको छ।

घरको भुइँ बरन्डाको दाहिनेपट्टि एउटा गजरा राखिएको थियो, छेउमा मकैको खोसेलाको पिरा छ। ढोकाभित्र पस्ने देब्रेपटि जाँतो छ, छेउमा बाँसको ढाकी। ढोकामाथि देब्रेपट्टि सयपत्री फूल ओइलिएको अवस्थामा सिउरिएको छ भने दाहिनेपट्टि क्यालेन्डर झुन्डिएको छ। घरको तलको भाग रातो माटोले लिपेको छ भने चारैतिर भित्तामा कमेरो लगाइएको छ।

घरको दाहिनेपट्टि लाछी (घरको पाखामा गाँसेको छानो) बनाइएको छ। जसमा दाउरा, गाईबस्तुका भाँडाकुँडा, पराल, खोसेला आदि राखिएका छन्। त्यो घरमा कोही बसेका छैनन्। संरक्षण गर्नेहरु अर्को घरमा बसेका छन्। दुवै घरका बलेंसीमा विभिन्न फूल रोपिएका छन्। छेउका पाखामा अम्रिसोका बोट छन्। सुन्तला लगायतका बोटले वरिपरि हरियाली छ।

खाल्डाखुल्टी र हिलो बाटो पुग्नै सास्ती
छातेढुंगोबाट लगभग ओरालो हुँदै घर पुग्दाको बाटो साँघुरो, कच्ची, खाल्डाखुल्टी र हिलो छ। प्रधानमन्त्रीको घर पुग्नेले सास्ती व्यहोर्नुपर्छ। दुई पांग्रेमा सास्ती हुने बाटोमा चारपांग्रे लैजान निकै कठिन छ।

४० मिनेट पैदल हिँड्दा फाट्टफुट्ट घर भेटिन्छन्। उक्त घर हेरचाहमा बसेकी भगिरथा भुसाल ओली पढेकै स्कुल प्रणामी माविमा प्रावि तहलाई पढाउँछन्। ‘प्रधानमन्त्री बसेको घरमै बसेर उहाँ कक्षा ५ सम्म पढेकै स्कुलमा पढाउँदै छु, गर्व लागेको छ।’ उनका अनुसार ओलीलाई पढाउने कोही शिक्षक अहिले त्यो विद्यालयमा छैनन्।

ओलीको गाउँप्रेम
बालुवाटारमा गत भदौमा भेट्दा प्रधानमन्त्रीले पार्टी (नेकपा) महासचिव विष्णु पौडेललाई भनेका थिए रे, ‘यी सबै मेरा आफन्त, म आज राजनीतिक कुरा गर्दिनँ व्यावहारिक कुरा गर्छु।’ गाउँको टोलीसँग पुग्दा एक घण्टा समय गाउँघरबारे कुराकानी भएको संग्रौलाले जानकारी दिए।

उनले भने, ‘सानो हुँदा गोठ राख्ने बारीमा सानो हुँदाका खमारेका आँप–कटहर फल्दै छन् कि छैनन् ? गाउँका बूढापाकाको नाम सोधेर उहाँ के गर्दै हुनुहुन्छ ? फलानाको व्यवहार कसरी चलेको छ ? यस्तै सोध्नुभयो।’

उनले भने, ‘जंगलको काँडा तिखार्नु पर्दैन भन्ने सुनेको थिएँ, केपी ओली यसकै नमुना हुनुहुन्छ।’ उनको गाउँ ब्राह्मण–क्षेत्रीको बस्ती थियो। खेतीकिसानी गाईबस्तु पाल्ने। धान खेती गर्ने। क्रमशः लिम्बू र दलित हुँदै धेरै जातजाति थपिए। संग्रौलाले भने, ‘पश्चिम बंगालमा त्यहाँका कम्युनिस्टमाथि दमन भएपछि ती मान्छे यतातिर छिरेका थिए।

पढेलेखेका ती मान्छेमा राजनीतिक चेतना गहिरो थियो। यहाँ आएर स्थानीयलाई विद्यालय खोल्न प्रेरित गरे। पढाउन थाले सँगै राजनीतिक आन्दोलन पनि अघि बढाए। सम्भवतः ओली यसै कारण राजनीतिमा होमिएर संघर्षले अहिले दोस्रोपटक प्रधानमन्त्री हुनुहुन्छ भन्दै अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्