Logo
१२ बैशाख २०८१, बुधबार
(February 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिनाथलाई सजाइएका फूल चोरी : ‘बाँदरबाट जोगियो, मान्छेबाट जोगाउन सकिएन’

लाखौं रकम खर्चेर पशुपति क्षेत्र विकास कोषले
महाशिवरात्रिलाई विशेष बनाउन पशुपतिनाथ मन्दिर र त्यस वरपरको क्षेत्रलाई फूलैफूलले सजायो । दिनभर मानिसहरु त्यही फूलको सजावट अगाडि उभिएर फोटो खिचे । रातभर पशुपतिमा तामझाम भयो । तर, भोलिपल्टै बिहान विरक्त लाग्दो दृष्य देखियो । किनभने सजाइएका फूलहरु गायब थिए ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथलाई फूलैफूलले सजाउन झण्डै दुई करोड रुपैयाँ खर्च गरेको थियो । फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारतलगायतका देशबाट ल्याइएको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो ।

यस वर्षको महाशिवरात्रिमा १२ लाख बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शनिबार बिहानैबाट पशुपतिनाथ क्षेत्र वरपर सरसफाइ थालिएको छ ।

‘यो सजावट बाँदरबाट कसरी जोगाउने होला भन्ने चिन्ता थियो,’ पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल भन्छन्, ‘बाँदर चढ्न सक्ने ठाउँको बरु सुुरक्षित छ, मान्छेले भेट्न सक्ने ठाउँको फूल चोरी भएछ । विरक्त लाग्यो मलाई त ।’

काठमाडौंमा सजाइएका फूल चोरी भएको यो घटना पहिलो भने होइन । यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला तीनकुनेको सडकमा सजाइएका फूल र दुबोसमेत चोरी भएको थियो । त्यसपछि सशस्त्र प्रहरीको उपत्यका बाहिनीले फूलको सुरक्षाका लागि टोली नै परिचालन गरेको थियो ।

ती फूलहरुबाट पुशपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार नै फूलैफूलले बनाइएको छ, जसमा आकर्षक ढंगले ‘ओम नमः शिवाय’ लेखिएको छ । शिवलिंगदेखि शिवको बाहन साँढेसमेत फूलबाटै बनाइएको छ । ठाउँठाउँमा गमलाहरुमा पनि फूल राखिएको थियो ।

तर मानिसहरुले भुइँमा राखिएका गमलादेखि झुण्डाएर राखिएका फूलसमेत चोरी गरेका छन् । बाँदरबाट जोगिए पनि मानिसबाट फूल नजोगिएकामा पशुपति क्षेत्र विकास कोषका अधिकारीहरु चिन्तित छन् ।

प्रकाशित मिति: Feb 22, 2020

प्रतिक्रिया दिनुहोस्