Logo
७ बैशाख २०८१, शुक्रबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पक्की पुल हेर्दै झोलुङ्गेबाट तर्दै

झोलुङ्गे पुलबाटै मोटरसाइकल तार्दा आउने खट, खट आवाजले यहाँका बासिन्दा र यात्रु वाक्क भएका छन् ।

उनीहरुले यो झण्झट झेलेको धेरै भयो । वरिपरि पक्की पुल बन्दैछन् तर वर्षौंदेखि अवस्था जस्ताको त्यस्तै छ । यता यात्रुलाई भने झोलुङ्गे पुलबाटै मोटरसाइकल तार्ने समस्याले छाडेको छैन ।

माइजोगमाई इलामका हरि पाख्रेलले झोलुङ्गे पुलमार्फत मोटरसाइकल तार्दै भने, “त्यहीँ छ नि पक्की पुल तर कहिल्यै बन्दैन के गर्नु ? ” नजिकै निर्माणाधीन पक्की पुलको काम थालिएको वर्षौं भयो तर स्थानीयले झोलुङ्गे पुलबाट नै आवतजावत गर्नुपर्ने बाध्यता छ ।

अझ मोटरसाइकल पनि यसैबाट तार्नुपर्दा झनै समस्या हुने गरेको छ । समयमा पुल नबन्दा पुल पारीका बासिन्दाले आफूलाई दुर्गम क्षेत्रको ठान्ने गरेको पोख्रेलको भनाइ छ ।

वर्षौंदेखि दुःख र मेहनतका साथ सवारी सञ्चालन गरिरहेका एक चालकले वर्षायाममा भोग्नुपरेको समस्या स्मरण गर्दै भने। “आजकल त के समस्या हुन्छ जस्तो छ र पछि वर्षायाममा पो रुवाउँछ त यो खोलाले ।” सडकको अवस्था त राम्रै छ तर पुल नहुँदा सास्ती भएको स्थानीयको गुनासो छ ।

हिउँदमा त सवारी साधन खोलाबाट नै आवतजावत हुन्छन् तर वर्षायाममा सवारी वारिका वारि र पारीका पारी नै हुन्छन् । यो खोलामा निर्माणाधीन पुल यस क्षेत्रका नागरिकको एक प्रतिनिधिमूलक समस्या हो । जिल्लाका अन्य आधा दर्जनभन्दा बढी स्थानमा बन्दै गरेका भनिएका पुलको अवस्था पनि उस्तै छ ।

विशेषगरी सन्दकपुर, इलाम सडकको माइमझुवामा पर्ने गिताङ र रातेखोलामा निर्माण थालिएको धेरै समय भयो तर पुल अझै तयार भएको छैन । इलाममा निर्माणाधीन आधा दर्जन पक्की पुल निर्माणको म्याद भने सकिइसक्यो ।

सडक डिभिजन कार्यालयमार्फत विभिन्न खोलामा निर्माणाधीन पुल समयमा निर्माण हुन नसकेका हुन् । समयमा निर्माण सम्पन्न नभएपछि पक्की पुलको म्याद थप गर्नुपर्ने अवस्था आइरहेको छ ।

जिल्लाका विभिन्न खोलामा पक्की पुल निर्माण हुने क्रमले यातायातका साधनका लागि सहज हँुदै गएको भए पनि समयमा काम पूरा नहुँदा भने वर्षौंदेखि नागरिकले दुःख भोग्नुपरेको छ । पुल कहिले बनिसक्ला भन्ने पर्खाईमा रहेका स्थानीय निराश बन्न थालेका छन् ।

तर सरकारले पछिल्लो समय एक वर्षमा निर्माण पूरा गर्न समय थप गरेपछि भने पछिल्लो समय काम अलपत्र छाडेर सम्पर्कविहीन भएका ठेकेदार भने अहिले सडक डिभिजन कार्यालयको सम्पर्कमा आएर सहकार्य थालेको बताएका छन् ।

लामो सयमसम्म काम पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्ने सूचना कार्यालयले गरेपछि अधिकांश ठेकेदार सम्पर्कमा आएर काम अघि बढाउने तयारीमा रहेको उक्त कार्यालयका प्रवक्ता मिलन श्रेष्ठले बताए । उनले अझै पनि थपिएको समयमा काम पूरा गर्ने सुनिश्चितता गरेर मात्र म्याद थप्ने गरेको बताए ।

नाम चलेका र ठूला कम्पनीले नै जिम्मा लिएका कतिपय पुलको काम समयमा हुन नसकेको हो । सरकारले अवसरसँगै एक वर्षमा अधुरा काम सक्ने बाध्यकारी व्यवस्था गरेकाले अधिकांश पुलको काम सकिने अवस्था आएको कार्यालयको भनाइ छ ।

सडक डिभिजनमार्फत इलाम, पाँचथर र ताप्लेजुङमा गरी राजमार्ग क्षेत्रमा ६ वटा र स्थानीय सडकमा १० वटा पुलको काम अघि बढेको छ ।

मेची राजमार्ग कावेलीमा पुल निर्माणको काम भइरहेको छ । त्यस्तै दमक चिसापानी रवि सडकअन्तर्गत वागमारा र घर्ती दोभानमा पुल निर्माणाधीन छन् ।

त्यस्तै इलाम सन्दकपुर सडकको गिताङ र रातेखोलामा पुल निर्माण भइरहेको छ । फिक्कलबाट पशुपतिनगर हुँदै अन्तु जाने सडकको सिद्धिखोलामा पनि निर्माणको काम अघि बढेको छ ।

सन्दकपुर सडकको माइमझुवामा पर्ने गिताङ र रातेखोलामा निर्माण थालिए पनि अधुरै छन् । गिताङ पुलको निर्माणको जिम्मा लिएको नागार्जुन कम्पनीले म्याद थपेर केही महिनाभित्र नै कामसक्ने प्रतिबद्धता जनाएको छ । शुरुमा जिल्लातिरका ठेकेदारमार्फत काम गराउँदा केही ढिलो भएको कम्पनीका इञ्जिनीयर सुलभ भट्टले बताए । अहिले अधुरै रहेका योजनालाई पूरा गर्नेगरी केन्द्रबाट नै काम भइरहेको उनको भनाइ छ ।

यता रातेखोला पुलको निर्माण कार्य वर्षौंअघि शुरु भए पनि काम पूरा नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । दुईतर्फको जिप आधा मात्र उठाइएको र लामो समय काम बन्द हुँदा फलामे डन्डी पनि खियाले मक्किने अवस्थामा पुगेको छ ।

सम्बन्धित निकायले तत्काल गुणस्तरीय काम गराएर स्थानीयसँगै सन्दकपुर जाने पर्यटकलाई सहज बनाउनुपर्ने स्थानीय कमल गुरुङको भनाइ छ ।

सडक डिभिजन कार्यालयले ठेकेदार सम्पर्कमा आएकाले चाँडै काम अघि बढ्ने जनाएको छ । लामो समयसम्म काममा ढिलाइ भएको राजदुवाली दानाबारी सडक खण्डको बुढी सुखानी र इलाम नयाँबजार सडक खण्डको माइखोला दुधाङ पुलको काम पनि वर्षौंदेखि अलपत्र छ । ढिलागरी ठेकेदार कम्पनी सम्पर्कमा आएर काम थालेकाले चाँडै पूरा हुने सडक डिभिजन कार्यालयका प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्