Logo
१५ चैत्र २०८०, बिहीबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाशिवरात्रिमा ११७ वर्षपछि शनि-शुक्रको दुर्लभ योग, पशुपतिमा चारै ढोका खुला, गाँजा-धतुरो निषेध

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ।

आज साँझ ५ः४० बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ। चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ। मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसैदिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग
आजको दिन ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग बनिरहेको छ । भारतका ज्योतिषाचार्य पं, मनिष शर्माका अनुसार शिवरात्रिमा शनि आफ्नो घरराशि मकरमा र शुक्र आफ्नो उच्च राशि मीनमा रहेको छ ।

यो दुईवटै ठूला राशि शिवरात्रिमा यस्तो स्थितीमा रहनु दुर्लभ योग हो ।  यो भन्दा पहिले सन् १९०३ को फेब्रअरी २५ मा यस्तो योग बनेको थियो ।
पं. शर्माका अनुसार शिवरात्रिमा गुरु पनि आफ्नो स्वराशि धनु राशिमा रहन्छन् । २१ फेब्रअरीको सर्वार्थ सिद्धि योग पनि पर्नेछ  । पूजाआजा र नयाँ कामको सुरुवातको लागि यो समय निकै शुभ मानिन्छ ।

यस दिन शनि चन्द्रको विष योग बन्छ । यो दुवै ग्रह मकर राशिमा रहन्छन् । बुध र सूर्य कुम्भ राशिमा एक साथ रहन्छन् । जसले बुध–आदित्य योग बन्छ । यो दिन मिथुन राशिमा राहु र धनु राशिमा केतु रहन्छ । शेष सबै ग्रहको राहु–केतुको बीचमा रहन्छन् । जसले सर्प योग बन्छ ।

पशुपतिका चारै ढोका खुल्ला
महाशिवरात्रिका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ। यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ। यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ।  नेपाललगायत विदेशबाट फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

पाँच वटा लाइन
यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले बताए।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाएकाे छ। नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ। जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकाली लगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुन्छ।

धतुरोलगायत लागू पदार्थ निषेध
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यसवर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए। दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागू पदार्थ निषेध गरिएको थियो। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ। यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्ने  बताए।

भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ। कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ। भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ।

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्