Logo
१३ बैशाख २०८१, बिहीबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीलाई घुष दिन प्रलोभन देखाएर अडियो टेप बनाउने मिश्रलाई कारबाही गर्न प्रहरीलाई पत्राचार

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग कमिसनको कुराकानी गर्ने विजय प्रकाश मिश्रलाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ।

मिश्रलाई यसअघि लेखा समितिले नै सेक्युरिटी प्रेसको विषयमा विज्ञका रूपमा डाकेर छलफल गरेको थियो। त्यस्तै, लेखा समितिले फेसबुकमा सांसदहरूको फोटोसहित ४ अर्ब खान लागेको टिप्पणी गरेका प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको लागि प्रहरीलाई पत्राचार गरेको छ। ‘४ अर्ब खाएर जर्मन कम्पनीलाई दिने सांसदहरू’ उल्लेख गर्दै सांसदहरूको फोटो पोस्ट गरेका थिए।

तर उनलाई अडिओ टेप सार्वजनिक गरेकोमा नभई लेखा समितिका सांसदको घुष दिने प्रलोभन दिएको र उनको सार्वजनिक खिल्ली उडाएको भन्दै र चरित्र हत्या गर्ने गरी टीकाटिप्पणी गरेकोमा समितिले कारबाही गर्न पत्राचार गरेको हो।

मिश्रले एक अनलाइनसँगको कुराकानीमा बाँस्कोटासँगको अडिओ बाहिर नल्याएको भए लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुन लागेको बताएका थिए।

नोट, पासपोर्ट र राजस्व स्टिकर लगायतका महत्वपूर्ण कागजपत्र छपाइका लागि आवश्यक सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको थियो।

सरकारले जर्मनी, फ्रान्स र स्वीस कम्पनीसँग सेक्युरिटी प्रेस खरिदबारे छलफल गरे पनि अन्तिममा जर्मनी र फ्रान्सबारे प्रस्ताव अगाडि बढाउने तयारी गरेको थियो।

तर मिश्रले लेखा समितिले जर्मनीको कम्पनीलाई ठेक्का दिनेगरी समितिका सदस्यहरूले सेटिङ गरेको दाबी गरेका थिए।  मिश्रले गरेको टिप्पणीबारे लेखा समितिका सांसदहरूले आपत्ति जनाएका थिए।

‘आज हामीले यो अडिओ बाहिर नल्याएको भए आजै लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुँदै थियो। लेखा समितिका मान्छेहरूले पनि कमिसन खाने गरी सेटिङ गरिसकेका थिए। त्यसकारण हामीले उक्त अडिओ बाहिर ल्याएर भ्रष्टाचार हुनबाट रोक्न खोजेका हौं,’ मिश्रले भनेका छन्।

कांग्रेस सांसद मिनेन्द्र रिजाल, नेकपाका सूर्य पाठक र समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईले मिश्रलाई कारबाहीको माग गरेका थिए। मिश्र सेक्युरिटी प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्ट समेत हुन्।

 

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्