Logo
६ बैशाख २०८१, बिहीबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकास समृद्धिको लागि सकरात्मक सोचसहित अगाडी बढ्नु प्रर्ने : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय प्रजातन्त्र दिवस-२०७६ का अवसरमा आज शुभकामना दिँदै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा उनले प्रजातन्त्र प्राप्तिका लागि भएको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् वीरशहीदलाई स्मरण गर्दै उनीहरुप्रति श्रद्धाँसुमन व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईले सन्देशमा २००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झना गरी मनाइरहेको उल्लेख गर्दै आजको दिन देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको दिन रहेको बताए ।

उनले आज संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि एवं राष्ट्रियतालाई अझ सबल र सुदृढ गर्ने महत्वपूर्ण बिन्दुमा उभिएका सन्देशमा उल्लेख गरेका छन् ।

प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा अभूतपूर्व उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धि यतिबेला धमाधम संस्थागत हुँदै गएको जनाएका छन् ।

उनले सन्देशमा अबको एजेण्डा विकास र समृद्धिको एजेण्डा रहेको उल्लेख गरेका छन् । शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्नसमेत मुख्यमन्त्री राईले सन्देशमा आह्वान गरेका छन् ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्