Logo
४ बैशाख २०८१, मंगलबार
(February 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित परियोजनामा हालसम्मकै उच्च खर्च

एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित परियोजनामा भएको खर्च हालसम्मकै उच्च देखिएको छ । एडीबीको सहयोगमा नेपालमा सञ्चालित आयोजनामा सन् २०१९ मा रू. ४८ अर्ब २२ करोड खर्च गर्ने लक्ष्य राखिएकामा रू. ३६ अर्ब ८८ करोड खर्च भएको छ जुन हालसम्मको उच्च हो । सन् २०१७ मा यस्तो खर्च रू. ३० अर्ब २४ करोड थियो भने २०१८ मा यो घटेर रू. २८ अर्ब ११ करोडमा सीमित भएको थियो ।

दाताको सहयोगअनुसार नेपालले खर्च गर्न नसकेको गुनासो यसअघि हुने गरेकोमा यस वर्ष भने विभिन्न परियोजनामा त्यस्तो खर्च उल्लेखनीय भएको एडीबीको प्रतिवेदनले देखाउँछ । २०१९ मा पूर्वाधार क्षेत्रमा उल्लेखनीय खर्च भई विगत ५ वर्षको तुलनामा सबैभन्दा राम्रो खर्च भएको समीक्षा एडीबीले गरेको छ । एडीबीले हरेक वर्ष आफ्नो लगानीमा सञ्चालित आयोजनाहरूको समीक्षा गर्दै आएको छ ।

एडीबीका अनुसार सन् २०१९ मा मुख्यतः भूकम्पपछिको पुनर्निर्माण, कृषि, खाद्य, ऊर्जा, पूर्वाधारलगायत क्षेत्रमा उल्लेखनीय खर्च भएको मंगलवार पोर्टफोलियो समीक्षा गर्दै एबीडीका नेपाल निर्देशक मुख्तोर खामुद्खानोभले बताए ।

एडीबीका अनुसार ‘भूकम्प आकस्मिक सहायता आयोजना’मा रू. ४ अर्ब ३९ करोड, सासेक परियोजनामा रू. ३ अर्ब २७ करोड खर्च भएको छ ।

यस्तै, क्षेत्रीय शहरी विकास आयोजनामा रू.२ अर्ब ५२ करोड, ग्रामीण पूर्वाधार सुधार परियोजनामा रू. २ अर्ब २८ करोड, खाद्य सुरक्षा तथा कृषिको व्यवसायीकरण परियोजनामा रू.२ अर्ब ८५ करोड खर्च भएको एडीबीको तथ्यांकमा देखिन्छ ।

यस अवधिमा पूर्वाधारको क्षेत्रमा खर्चका हिसाबले नेपाल दक्षिण एशियामै अगाडि भएको समीक्षा बैंकले गरेको अभियान दैनिकमा विजय दमासेले समाचार लेखेका छन् । यद्यपि, दक्ष जनशक्ति, सुरक्षा आदिको अभाव टड्कारो रहेको एडीबीको भनाइ छ ।

यसैलाई औंल्याउँदै एडीबी नेपालका निर्देशक खामुद्खानोभले नेपालमा आयोजना कार्यान्वयनको तहमा रहेका कर्मचारीको क्षमता बढाउन जरुरी रहेको बताए । उनका अनुसार जटिल भौगोलिक अवस्था, संघीय प्रणालीमा कर्मचारी व्यवस्थापन लगायतको समस्याका कारण एडीबीबाट सञ्चालित आयोजनाहरूले लक्ष्यअनुसार प्रगति गर्न सकेका छैनन् ।

प्रकाशित मिति: Feb 18, 2020

प्रतिक्रिया दिनुहोस्