Logo
६ बैशाख २०८१, बिहीबार
(February 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनले सिंगारिने भयो पशुपति मन्दिरमा रहेको शिवलिंगको पिठिका

काठमाडौं : पशुपति मन्दिरमा रहेको शिवलिंगको पिठिका अब सुनले सिंगारिने भएको छ ।

धार्मिक र ऐतिहासिक महत्व बोकेको पशुपतिको गजुरजस्तै शिवलिंगको पिठिकासमेत अब भक्तजनबाट सहयोग मागेर सुनले सिंगारिने भएको हो । पिठिकामा हाल चाँदीको आवरणयुक्त जलहरी मात्रै छ । पशुपति क्षेत्र विकास कोषले त्यसलाई हटाएर सुनको जलहरी बनाउन लागिएको हो ।

यसका लागि १ सय ४१ किलो सुन लाग्ने पशुपति क्षेत्र विकास कोषको जनाएको छ ।जलहरी निर्माणमा २४ क्यारेटको सुन प्रयोग गर्ने कोषको योजना छ ।

कोषले जलहरी योजना सार्वजनिक गर्दै सहयोगका लागि भक्तजनहरूलाई आग्रह गरेको छ । तर दातालाई मनमौजी सहयोग गर्ने सुविधा भने छैन । कोषका अनुसार, इच्छुक व्यक्तिले कम्तीमा १ तोलादेखि बढीमा १ किलोग्रामसम्म सुन वा सो बराबरको रकम सहयोग गर्न सक्नेछन् ।

१ किलोग्राम बढीको सुन वा सो बराबरको रकम कसैले सहयोग गर्न चाहेमा त्यो स्वीकार गर्न नसकिने कोषले जनाएको छ । इच्छुक व्यक्तिले कोषको विभिन्न ५ वटा बैंकमा रहेका खातामार्फत सहयोग गर्न सक्ने व्यवस्था कोषले मिलाएको छ ।

कोषका अनुसार इच्छुक भक्तजनले कोषको बैंक खाता रहेको कुमारी, एभरेष्ट, कृषि विकास, एसबीआई र नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत सहयोग गर्न सक्नेछन् । सुनको जलहरी निर्माण अभियानका लागि गोप्य दानको व्यवस्था पनि कोषले मिलाएको छ ।

प्रकाशित मिति: Feb 18, 2020

प्रतिक्रिया दिनुहोस्