Logo
१५ चैत्र २०८०, बिहीबार
(February 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मकरीगाडमा १० मेगावाट विद्युत् थपिने स्थानीयवासीद्वारा कम्पनीको भव्य स्वागत

निजी क्षेत्रबाट निर्माण शुरु भएको मकरीगाड हाइड्रोपावर प्रालिले आगामी दुई वर्षभित्र मकरीगाड खोलामा १० मेगावाट विद्युत् निर्माण गरिसक्ने भएको छ । कूल रु दुई अर्ब पाँच करोड लगानीमा अपिहिमाल गाउँपालिका-५ मकरीगाडमा जलविद्युत् निर्माण हुने भएको हो ।

विद्युत् निर्माणका लागि अपिहिमाल गाउँपालिकाले लिएको जलविद्युत् नीतिअनुरुप यो क्षेत्रमा निजी क्षेत्रबाट पहिलोपटक १० मेगावाट क्षमताको जलविद्युत् निर्माणको थालनी भएको हो । जलविद्युत्को सांसद गणेशसिंह ठगुन्नाले शिलान्यास गर्नुभयो ।

अपिहिमाल भएर बग्ने मकरीगाड खोलामा यो पहिलोपटक विद्युत् उत्पादन थालिएको छ । खात्ती गाउँ नजिकैको मकरी क्षेत्रमा सानो बाँध निर्माण गरी मकरीगाडको १.३५ घनमिटर पानी फर्काइ करीब ३.३ किमी फलामे पेनस्टकपाइपमार्फत विद्युत् उत्पादन गरिने छ ।

विद्युत् निर्माण गर्दा दुईवटा टरवाइन र जेनेरेटरमा ९२४ मिटरको जलचाँप खसाली मकरीगाडमा १० मेगावाट क्षमताको विद्युत् उत्पादन गरिन लागेको मकरीगाड हाइड्रोपावर प्रालिका प्रमुख कार्यकारी अधिकृत करन चन्दले जानकारी दिनुभयो ।

मकरीगाडबाट उत्पादन भएको विद्युत्लाई शैल्यशिखर नगरपालिका-१ शिखरस्थित चमेलिया जलविद्युत् आयोजनाको सवस्टेशनमा जडान गर्नेछ । उक्त आयोजनाबाट उत्पादन हुने विद्युत्लाई २७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन बलाँचबाट राष्ट्रिय विद्युत् प्रणालीमा जोडिने छ ।

नेपाल विद्युत् प्राधिकरणको शिखर बलाचस्थित १३२ केभी सवस्टेशनमार्फत राष्ट्रिय विद्युत प्रणालीमा जोडिने योजना रहेको अधिकृत चन्दको भनाइ छ । मकरीगाड हाइड्रोपावर प्रालि निर्माणका लागि हाइड्रो भिजन कम्पनी प्रालि नेपाल र एलटीएल इनर्जी प्रालि श्रीलङ्का शेयरधनी रहेका छन् ।

जलविद्युत् निर्माणका लागि सानिमा बैंक लिमिटेडको नेतृत्वमा एनसीसी बैंक, सेञ्जुरी बैंक लिमिटेडको संयुक्तरूपमा रु एक अर्ब ४४ करोड ऋण सम्झौता भएको कार्यकारी अधिकृत चन्दले जानकारी गराउनुभयो ।

यस्तै जलविद्युत् प्रवद्र्धक कम्पनीको तर्फबाट मकरीगाड हाइड्रोपावर प्रालिलाई रु ६१ करोड लगानी हुने बताइएको छ । सडक नपुगेको अवस्थामा मकरीगाड हाइड्रोपावर प्रालिले सडक निर्माणका लागि स्काभेटर, ड्रिलिङ मेसिन तथा विष्फोटक पदार्थ खरिदमा र जनशक्ति परिचालनमा सहयोग पु¥याएको थियो ।

अहिले जलविद्युत् निर्माणस्थलमा रोपवे, बाँध, पेनस्टक, पाइप निर्माणको कार्य शुभारम्भ गरिएको छ ।

चमेलिया नदीको सहायक नदीमा उत्पादन भएको विद्युत्ले दार्चुलाको मात्र नभई समग्र राष्ट्रको समृद्धिमा टेवा पुग्ने सांसद ठगुन्नाले बताउनुभयो । यो विद्युत् उत्पादन हुनु गाउँपालिकाको विकासका लागि कोशेढुङ्गा सावित नै हुन्छ ।

जलविद्युत्को विकास गर्न सके रोजगारी सिर्जना, गाउँपालिकाको समग्र विकासमा समेत सहयोग पुग्ने भन्दै अझै यस क्षेत्रमा जलविद्युत् निर्माणका लागि प्रवद्र्धन गर्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै जलस्रोतविज्ञ तथा विद्युत् प्राधिकरणका पूर्वनिर्देशक कीर्तिचन्द ठाकुरले चमेलिया जलाधार क्षेत्रमा विद्युत् उत्पादनका लागि राम्रो सम्भावना भएको बताउनुभयो । अहिले सडक समस्या हुँदा पनि विद्युत् निर्माण शुरु भएका छन् । सडकले राम्रो गति लिएपछि जलाधार क्षेत्रमा सयौँ मेगावट विद्युत् उत्पादनका लागि लगानीकर्ता इच्छुक देखिएको बताउनुभयो ।

चमेलिया क्षेत्रमा ५० मेगावाट विद्युत् उत्पादन भइसकेको छ । अझै २०० मेगावाट विद्युत् उत्पादनका लागि अध्ययनको क्रममा रहेको बताउँदै जलस्रोतविज्ञ चन्दले भन्नुभयो, “यहाँ उत्पादन भएको विद्युत्ले सुदूपश्चिमको विकासमा कोशेढुङ्गा हुनेछ ।” उहाँले जलविद्युत् उत्पादनसँगै अपि वा मार्मा गाउँपालिका क्षेत्रमा १२५ किलोवाट क्षमतासम्मका सवस्टेशन निर्माणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

मकरीगाड हाइड्रोपावर प्रालिका सञ्चालक समिति सदस्य श्रीलङ्कन लगानीकर्ता समेरा गनेगडाले दार्चुलाको चमेलिया जलाधार क्षेत्रका अन्य जलविद्युत्मा लगानी गर्न इच्छुक रहेको बताउनुभयो । यो सँगै यस क्षेत्रमा रहेका चमेलिया जलाधार क्षेत्रमा उत्पादन हुने विद्युत्मा लगानी गर्न तयार रहेको जनाउनुभयो ।

सो गाउँपालिकामा निजी क्षेत्रबाट पहिलोपटक ठूलो लगानीमा विद्युत् निर्माण शुरु भएपछि स्थानीयवासीले कम्पनीको भव्य स्वागत गरेका छन् । गाउँपालिकाले निजी क्षेत्रलाई अझै लागनी गराउन उत्प्रेरित गर्न चाहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।

प्रकाशित मिति: Feb 16, 2020

प्रतिक्रिया दिनुहोस्