Logo
११ बैशाख २०८१, मंगलबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्णरुपमा विज्ञान र प्रविधिमा आधारित विश्वविद्यालय खुल्दै

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पूर्णरुपमा विज्ञान र प्रविधिमा आधारित शिक्षा दिने बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न बनेको विधेयक माथिको छलफलमा उनले सो विश्वविद्यालय मकवानपुरको चित्लाङमा निर्माण हुने स्पष्ट गरेका छन् ।

मन्त्री पोखरेलले नेपालका अरू विश्वविद्यालयभन्दा उक्त विश्वविद्यालय फरक हुने र संसारका उत्कृष्ट विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने गरी स्थापना गरिने पनि बताएका छन् ।

छलफलमा सांसदहरुले सो विश्वविद्यालय खोलिनु सामयिक भएको उल्लेख गर्दै यसको नाम मदन–आश्रित विश्वविद्यालय हुनुपर्नेमा जोड दिएका थिए ।

नेपाली काँग्रेसका सांसद गगन थापाले विश्वविद्यालय कुन प्रकारको हुने र कस्तो शिक्षा दिने भन्ने विषयमा प्रष्ट गराउन मन्त्री पोखरेललाई आग्रह समेत गरेका थिए ।

बैठकमा सांसद एवं पूर्वमन्त्री खगराज अधिकारीले प्राविधिक शिक्षा दिने उद्देश्यले स्थापना गर्न लागेको विश्वविद्यालयमा अरू विषय समावेश गर्न नहुने धारण व्यक्त गरेका छन् ।

नेकपाका सांसद विद्या भट्टराईले नयाँ पुस्ताका लागि युग सुहाउँदो शिक्षा पाउने आशामा रहेका युवाहरु सो विश्वविद्यालयको प्रतीक्षामा रहेकाले चाँडोभन्दा चाँडो विधेयक अघि बढाउन आग्रह गरेकी छन् ।

समितिका सभापति जयपुरी घर्तीले विधेयकमाथि दफावार छलफल गरी विज्ञ र संशोधनकर्ताको सुझावका आधारमा संशोधनसहित पारित गरिने जानकारी दिएका छन् ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्