Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योजना सम्झौता न्यून, १३ प्रतिशत मात्रै भुक्तानी

पाँचखाल नगरपालिकाले आर्थिक वर्षको छ महिनामा आधा योजना पनि सम्झौता गर्न सकेको छैन । नगरका विभिन्न कार्यपालिका बैठकबाट निर्णय भएका ३०१ विकासे योजनामध्ये आवको आधा वर्षमा १२५ योजना मात्रै सम्झौता हुन सकेका हुन् ।

आर्थिक वर्षको छ महिनामा करिब ५० प्रतिशत योजना सम्झौता हुनुपर्नेमा हाल करिब ४२ प्रतिशत मात्रै योजना सम्झौता भएको पाइएको छ । हालसम्म सम्झौता भएका योजनामध्ये ४१ योजना अर्थात् करिब १३ प्रतिशत योजनाको मात्रै भुक्तानी गरिएको नगरसभामा सार्वजनिक अर्धवार्षिक प्रगति विवरणमा उल्लेख गरिएको छ ।

सम्झौता प्रक्रियाको यही अभ्यास हुँदै जाने हो भने चालू आवमा सो नगरको योजना सम्पन्न हुनेमा आशङ्का पैदा हुन थालेको छ । नगरप्रमुख महेश खरेल नगरपालिका कार्यालयले सन्तोषजनक प्रगति भइरहेको बताए । “हामीले कृषि नगरको नारालाई सार्थकता दिन औद्योगिक विकासका माध्यमले रोजगार प्रवद्र्धन गर्नेछौँ”, उनले भने। उनेले कृषि, औद्योगिक तथा भेटेरीनरी कार्यक्रमबाट थप तीन हजार रोजगारी सिर्जना गर्ने योजना रहेको बताए ।

“हाम्रा योजना महत्वकाङ्क्षी भए पनि क्रमशः कार्यान्वयनको चरणमा जानेछौँ”, उनले भने । चालू आवको छ महिनामा केही कमै योजना सम्झौता भए पनि माघ महिनादेखि तीव्र गतिमा योजना सम्झौताको काम भएको उनले बताए । सङ्घ र प्रदेश सरकारको समन्वयमा जिल्लास्थित बिपी राजमार्ग र अरनिको राजमार्गसँग जोडिएका नगरका भित्री क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको र पाँचखालको पुरातात्विक क्षेत्रको संरक्षण एवं प्रवद्र्धनमा लागिएकाले योजनाले निरन्तरता पाइरहेको नगरप्रमुखले बताए ।

पाँचखालको योजना सम्झौता ढिलाइ हुनुमा केही समयदेखि वडास्तरमा प्राविधिक पर्याप्त नहुनु रहेको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले बताए । वडास्तरका उपभोक्ता समितिले कामलाई तीव्रता नदिनु पनि अर्का कारण रहेको उनको भनाइ छ । “भुक्तानी माग गरेकालाई रोकेका छैनौँ, केही योजनाको झुक्तानी माग नगर्दा कम भुक्तानी देखिएको हुनसक्छ”, उनले भने, हाल रु १५ लाखमाथिका योजनामा ‘इ-बीडिङ’ गर्ने योजना अघि सारेको छ ।

प्रकाशित मिति: Feb 2, 2020

प्रतिक्रिया दिनुहोस्