Logo
१५ चैत्र २०८०, बिहीबार
(January 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढल्केबरदेखि भारतीय सिमासम्म प्रदेश २ को स्थायी राजधानी, नाम ‘मधेश प्रदेश’

प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने भएको छ भने प्रदेशको नाम मधेश राखिने भएको छ । प्रदेशसभाका सभामुख सरोजकुमार यादवको नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो ।

यद्यपि प्रदेशको नामबारे अझै बिवाद कायमै रहेको छ । तर करिब करिब मधेश नाम नै तय हुने श्रोतको दावी छ । ‘सबै दलको सहमतिमा राजधानी तोक्ने काम भएको छ’ सभामुख यादवले भने, ‘संसदीय प्रक्रिया भने पूरा गर्न बाँकी छ ।’

यादवका अनुसार प्रदेश राजधानीको सीमा उत्तरमा पूर्वपश्चिम राजमार्गस्थित ढल्केबर, दक्षिणमा भारतीय सीमासम्म तथा पूर्व र पश्चिम परिक्रमा रोड रहनेछ ।

प्रदेशको स्थायी राजधानीबारे सहमति जुटे पनि प्रदेशको नामबारे विवाद कायमे छ । सभामुख यादवका अनुसार यसबारे छलफल गर्न भोलि सोमबार बैठक बोलाइएको छ ।

बैठकमा प्रदेशको नाम प्रस्ताव गर्ने प्रस्तावक, समर्थक र संशोधनकर्तालाई बोलाएर छलफल गरिने सभामुख यादवले जानकारी दिए ।

सत्तारुढ समाजवादी-राजपाले संयुक्त रुपमा प्रदेशको नाम ‘मधेश’ प्रस्ताव गरेका छन् भने नेकपाले जानकी र कांग्रेसले मिथिला-भोजपुरा राख्नुपर्ने प्रस्ताव पेश गरेको छ ।

कांग्रेसका केहि सांसदले भने मध्य मधेशको नाम प्रस्ताव गरेका छन् । सबै दलको सहमतिमा राजधानी तोक्ने काम भएकाले प्रदेशसभाबाट पारित हुने सभामुख यादवले बताए । ‘सर्वसम्मत निर्णय भए पनि प्रदेशसभामा मतदान गर्नैपर्ने हुन्छ’ उनले भने, ‘पक्षमा दुई तिहाई मतदान भए मात्रै यो पारित हुन्छ ।’

५ भदौमा दलहरुले प्रदेशको स्थायी राजधानीका लागि चार वटा फरक फरक प्रस्ताव दर्ता भएको छ । सत्तासिन समाजवादी र राजपाले संयुक्त रुपमा प्रस्ताव दर्ता गराउँदा राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमा सडक र धनुषाको उत्तरमा ढल्केबर पूर्वपश्चिम राजमार्गको पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सिमासम्मको भागलाई राजधानी तोक्न प्रस्ताव गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनकपुर परिक्रमा मार्गसहित धनुषा जिल्लालाई राजधानी बनाउन प्रस्ताव गर्दा नेपाली कांग्रेसले जनकपुर उपमहानगरपालिकाभित्र राख्नुपर्ने प्रस्ताव गरेको छ । यस्तै पर्साका प्रदेशसभा सदस्यहरुले भने वीरगञ्जलाई राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका थिए ।

प्रकाशित मिति: Jan 26, 2020

प्रतिक्रिया दिनुहोस्