Logo
८ बैशाख २०८१, शनिबार
(January 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीलाई झुक्याएर भारत पसे सिद्धबाबा, तर जिल्ला प्रहरी प्रमुख भन्छन्- उनलाई फरार सूचीमा राख्न मिल्दैन

बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी सुरक्षा संयन्त्रलाई झुक्याएर भारत पसेका छन् ।

यौनकाण्ड आरोप खेपिरहेका सिद्धबाबा बिहीबार सुनसरीको चतरास्थित आश्रमबाट उच्च अदालत विराटनगर जाने भन्दै हिँडेका गिरी प्रहरीलाई झुक्याएर एकाएक भारत पसेपछि प्रहरीभित्र हलचल मच्चिएको छ । सिद्धबाबाको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले हबल्दार मुकेश साहसहितको टोलीलाई खटाएको बताइएको छ ।

गिरीविरुद्धको मुद्दाको पेसी उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा चलिरहेका बेला सिद्धबाबा सुरक्षा संयन्त्रलाई झुक्याएर भारत पसेका हुन् । सीमावर्ती क्षेत्र रानीबाट भारतीय बजार जोगवनी पुगेका गिरीले सुरक्षाकर्मीलाई फिर्ता पठाएर भारत पसेका हुन् ।

तर, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख यज्ञविनोद पोखरेलले भने जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि सिद्धबाबाको सुरक्षाका लागि कुनै प्रहरी नखटाइएको दावी गरे । पोखरेलले भने, ‘सिद्धबाबाको लागि जिप्रका सुनसरीले प्रहरी हबल्दार खटाएको छैन । आफ्नै अनुयायीहरुसँग सिद्धबाबा विराटनगर जाँदै थिए भन्ने हल्ला सुनेको हुँ ।’

जिल्ला अदालत सुनसरीका एक अधिकारीका अनुसार हबल्दार साहले सिद्धबाबा भारत छिरेको भन्दै जिल्ला प्रहरी प्रमुखलाई फोन गरेर जानकारी गराएका थिए । तर, जिल्ला प्रहरी प्रमुख यो घटना सत्य नभएको बताउँदै आएका छन् । यद्यपि अहिले नै उनी मुद्दाको सामना गर्न छाडेर भागेको भनिहाल्ने अवस्था भने छैन ।

‘सिद्धबाबाको फागुन ६ गते तारेख हो । त्यसअघि उनलाई फरार सूचीमा राख्न मिल्दैन,’ उनले थपे, ‘त्यतिबेला उपस्थित भएनन् भने फरार सूचीमा राख्न मिल्छ । र, मुद्दाको डरले भागेको आशंका गर्न मिल्छ ।’

प्रकाशित मिति: Jan 25, 2020

प्रतिक्रिया दिनुहोस्