Logo
८ बैशाख २०८१, शनिबार
(January 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै बिहेको निम्तो बाँड्न गएकी यूवतीको ट्रिपरले लियो ज्यान

काठमाडौं पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्ता बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरुलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् । रमिताले साथीहरुलाई निम्तो त बाँडिन्, तर बिहे हुन पाएन ।

निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ ट्रिपरको ठक्करबाट मृत्यु भयो । बैतडीको दशरथचन्द नगरपालिका(१ गुरुखोला घर भएकी रमिता महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । उनी डेढ वर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग ‘भागेर’ आएकी थिइन् ।

टेरसँगै बसिरहेकी उनलाई अन्तरजातीय (बाहुन-क्षत्री) सम्बन्ध भएकाले माइती पक्षले स्वीकार गरेका थिएन । अहिले माइती पक्ष राजी भएपछि रमिता र प्रकाशको औपचारिक विवाह हुन लागेको थियो । ‘माघ १३ मा विवाहको तयारी थियो, हामीहरु सरसामान जुटाउनदेखि निम्तो बाँड्ने काममा जुटेका थियौँ,’ रमिताका ससुरा हरिसिंह टेरले फोनमा भने, ‘खबर सुनेपछि सबै भताभुंग भयो, कामधाम सबै छाडेर हामी महेन्द्रनगर आएको छौँ ।’

उनीहरु एक साताअघिसम्म महेन्द्रनगरमै थिए । बिहेको तयारीका लागि बैतडी गएका हुन् । रमिता दिउँसो २ बजेतिर साथीहरुलाई कार्ड दिन्छु भन्दै डेराबाट निस्केकी थिइन् । नन्द पार्वती टेर र आमाजू देवकी भट्टले बजार नजान भनेका थिए । आधा घण्टामै महेन्द्रनगरकै मदन चोकमा भेट्ने भन्दै कार्ड बोकेर हिँडेकी थिइन् । आधा घण्टापछि पार्वती र देवकीले फोन गर्दा उनको मोबाइल अफ थियो । ‘हामीले प्रहरीलाई पनि यस बिषयमा खबर गरेका थियौँ,’ पार्वतीले भनिन्, ‘ढिलो गरी दुर्घटनाबारे खबर पायौँ, अस्पताल पुगेर हेर्दा रमिता नै रहिछन् ।’

                                                                                                                                           कान्तिपुर दैनिकबाट साभार 

प्रकाशित मिति: Jan 24, 2020

प्रतिक्रिया दिनुहोस्